अछामको कोदो कैलालीमा बिक्री शुरु

फागुन ४,अछाम ।
अछामको चौरपाटी गाउँपालिमा उत्पादन भएको अर्ग्यानिक कोदो कैलालीका बजारहरूमा पुगेको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य सहित गाउँपालिकाले गाउँमा सङ्कलन गरेको कोदो कैलाली लिएको हो । कैलाली लगिएको कोदो अत्तरिया र धनगढी बजारबाट बिक्री गरिने गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए। गाउँपालिकामा फलेका अर्ग्यानिक कोदो कैलाली पुगाई बजारीकरण शुरु गरिएको भन्दै उहाँले हाल साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री शुरु गरिएको जानकारी दिए । धनगढीका अन्य कुन–कुन ठाउँबाट बेच्ने भन्ने कुरा पनि निर्धारण गरी निश्चित ठाउँ तोकेर धनगढी र अत्तरियाका नागरिकलाई सस्तो र सुलभ तरिकाले अर्ग्यानिक कोदो उपलब्ध गराउने योजना रहेको बताए । साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड धनगढीका नायव महाप्रबन्धक केशव प्रसाद पाण्डेले किसान र विभिन्न व्यापारीहरूले उत्पादन गरेका दैनिक उपभोग्य समाग्रीहरु प्राथमिकताका साथ कार्यालयको बिक्री कक्षबाट बिक्री वितरण गर्दै आएको बताए।

गाउँपालिकामा फलेको अर्ग्यानिक कोदो किनेर सहयोग गरिदिन हुन गाउँपालिकाका अध्यक्ष साउदले आग्रह गरे । चौरपाटीमा फल्ने गुणस्तरीय कोदो प्रवर्द्धन गर्न गाउँपालिकाले ‘फलेको कोदो, कुटेको धान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका किसानले फलाएर केलाएर ल्याएको कोदो बराबर चामल साटेर गाउँपालिकाले १ सय ५५ क्विन्टल ५० केजी कोदो सङ्कलन गरेको थियो । होलसेलमा कोदो खरिद गर्न चाहनेका लागि प्रतिकिलो ३५ रुपैयाँ बिक्री मूल्य राखिएको अध्यक्ष साउँदको भनाइ छ । “तराईबाट चामल लगायतका खाद्यान्न बोकेर जाने ट्रकमा स्थानीय उत्पादन पठाउने आफ्नो योजना रहेको छ ।” अध्यक्ष साउदले बताए । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्त्व पाइने हुँदा कोदो स्वास्थ्यका लागि पनि बहुउपयोगी भएको पोषणविद्हरुको भनाइ छ । कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका बिरामीहरूको लागि पनि उपयुक्त बालीको रुपमा कोदोलाई चिनिएको छ । गाउँपालिकाले पाँच, दस, तथा १० केजी प्याकमा कोदो प्याकिङ गरी बिक्री गर्न लागेको हो । गाउँपालिकाले कृषि ज्ञान केन्द्र अछामको ८५ प्रतिशत र गाउँपालिकाको १५ प्रतिशत लगानी रहने गरी २४ सय थान प्याकेट तयार गरिसकेको थियो ।

 

Translate »