वीनपाले फागुन २ गतेदेखि निःशुल्क कोरोना खोप उपलब्ध गराउँदै

प्रदेश अस्पताल कालागाउँबाट ‘कोभिशिल्ड’ लगाउने व्यवस्था मिलाईएको छ


स्काई न्यूज / फागुन १, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फागुन २ गतेदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ लगाउने व्यवस्था मिलाएको छ । वीनपाको स्वास्थ्य शाखाका भूपेन्द्रदेव गिरीले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल कालागाउँबाट निःशुल्क कोरोना खोप लगाइने व्यवस्था मिलाईएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा छुटेका लक्षित समूहलाई फागुन २ गते, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई फागुन २ र ३ गते, निजामति सेवाका कर्मचारी (वीरेन्द्रनगर नगरपालिकाका) २ देखि ८ गतेसम्म, बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई ५ र ६ गते, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीलाई ४ देखि ८ गतेसम्म, न्याय समूहका कर्मचारी (अदालत, वकिल) लाई ४ र ५ गते एवं पत्रकारलाई ४ र ५ गते प्रदेश अस्पतालबाट खोप प्रदान गरिने छ । उनले कोभिड–१९, विरुद्धको खोप लगाउनको लागि लक्षित समूहका व्यक्तिले आ–आफ्नो आधिकारीक परिचय पत्र वा कार्यालयको पत्र सहित खोप सेवा लिन आउनु पर्ने बताए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।

Translate »