दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि कोरोना खोप

सरकारले फागुन २ गतेदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिएका छन् । उनका अनुसार दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ । उनले पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने बताए । खोप अस्पताल र स्वास्थ्य संघसंस्थाबाट लगाइने उनको भनाइ छ । उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ । पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भएपनि एक लाख ८४ हजारले खोप लगाएका छन् । पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो । उनीहरुलाई शुक्रबारसम्म लगाइएको छ । कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । तीमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशतलाई खोप दिने मध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने जनाए । नेपालमा अहिलेसम्म दुई लाख ७२ हजार ३४९ संक्रमित भएका छन् । नेपालमा दुई लाख ६८ हजार ५४९ व्यक्ति निको र दुई हजार ४७ जनाको सङ्क्रमणबाट निधन भएको छ ।


सरकारी प्रयोगशालामा एक हजारमै पीसीआर
यसैबीच, सरकारले कोभिड–१९को पीसीआर परीक्षण शुल्क १ हजार रुपैयाँ कायम गरेको छ । सरकारले यसअघि २ हजार लिने गरेको कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क एक हजार घटाएको हो । सरकारी प्रयोगशालामा पीसीआर शुल्क १ हजार लिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताए । साथै अबदेखि कोभिड–१९ संक्रमितको उपचार सरकारी अस्पतालमा मात्र गर्ने समेत निर्णय भएको उनको भनाइ छ । सरकारले यसअघि कोभिड–१९ का संक्रमित बढेसँगै निजी र सरकारी दुब अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएको थियो ।

Translate »