प्रदेशमन्त्रीका अंगरक्षकबाट सशस्त्र प्रहरी फिर्ता

जनकपुर — प्रदेश सरकारका मन्त्रीको अंगरक्षकमा खटिएका सशस्त्र प्रहरीलाई बिहीबारबाट हटाइएको छ । ७ वटै प्रदेशका मन्त्रीको अंगरक्षक र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार फौजको नयाँ कार्यविधिअनुसार प्रदेशका मन्त्रीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको हो । ‘सशस्त्र प्रहरीको नयाँ कार्यविधिमा प्रदेशका मन्त्रीहरुको सुरक्षामा सशस्त्र प्रहरी नखटाउने उल्लेख गरिएको छ,’ प्रवक्ता अर्यालले  भने, ‘त्यही प्रावधानअनुसार प्रदेशका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुलाई फिर्ता बोलाइएको हो ।’

प्रदेश २ सरकारका मन्त्रीहरु लागिमात्रै करिब ३२ जना सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार र हवल्दार खटिएका छन् । प्रदेश सरकारका अरु मन्त्रीहरुलाई २–२ जना सशस्त्र प्रहरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई पछुवासहित ८ जना सशस्त्र प्रहरी खटाइएको थियो ।

अंगरक्षक र सुरक्षाबाट सशस्त्र प्रहरी झिकिएको प्रदेश २ सरकारलाई जानकारी गराइसकिएको छ । मन्त्रीको अंगरक्षकबाट सशस्त्र प्रहरी झिकिएपछि प्रदेश २ को आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बिहीबार अपरान्ह आकस्मिक सुरक्षा बैठक बोलाएका छन् । बद्लिँदो राजनीति घटनाक्रमलगत्तै प्रदेशका मन्त्रीहरुको सुरक्षाबाट सशस्त्र प्रहरी झिकिएपछि प्रदेश २ सरकारका मन्त्रीहरुमा अर्कै संशय देखिएको छ ।

‘प्रतिनिधिसभा विघटनसँगै प्रदेशसभालाई पनि असफल बनाउने प्रयास भइरहेको बेला मन्त्रीहरुको सुरक्षाबाट सशस्त्र प्रहरीलाई झिक्नुले हामी सशंकित बनेका छौं,’ प्रदेश २ सरकारका एक वरिष्ठ मन्त्रीले भने,‘अहिलेको अवस्थामा झन् सुरक्षा मजबुत पार्नुपर्नेमा उल्टै फिर्ता बोलाउनु शंकास्पद छ ।’

सशस्त्र प्रहरीका अनुसार शुक्रबारबाट प्रदेश सरकारका मन्त्रीहरुसँग सशस्त्र प्रहरीको सुरक्षा रहने छैन । प्रदेश सरकारका मन्त्रीहरुलाई नेपाल प्रहरीको सुरक्षा थप्ने तयारी छ । (कान्तिपुर )

Translate »