सिलाई कटाइ व्यवसायमा युवाहरूको आकर्षण बढ्दै

माघ २९,जाजरकोट ।
गाउँघरमा रोजगारीको कुनै पनि अवसर नपाएर दैनिक जसो अधिकांश युवाहरू वैदेशिक रोजगारीमा विदेश तीर पलाइन भइरहेका छन् ।रोजगारीको खोजीमा युवाहरू खाँडी मुलुक धाइरहेका बेला जाजरकोटमा भने केही युवाहरूले गाउँमै रोजगारी सिर्जना गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पछिल्लो समय जाजरकोटका अधिकांश युवाहरूको लागि सिलाइ कटाइ व्यवसाय रोजगारीको गतिलो माध्यम बनेको छ । उनीहरूले सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् भने सिलाइ कटाइ व्यवसायबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

पुर्ख्यौली व्यवसायलाई व्यावसायिक बनाउँदा आत्मनिर्भर बन्न धेरै सजिलो भएको सिलाइ व्यवसाय गर्दै आएका कमल परियारले बताए ।राम्रो आम्दानी र व्यवसाय फस्टाउँदै गएपछि धेरैको रोजाइमा परेको छ यो व्यवसाय । पहिले साँझ–बिहानको छाक टार्न मुस्किल हुने अवस्था भएकाहरू अहिले मासिक रूपमा ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय पढेलेखेका युवासमेत यो व्यवसायमा आकर्षित हुन थालेका छन् । विगतमा दलित समुदायले अपनाउँदै आएको सिलाइ कटाइ व्यवसायमा अहिले भने सबै जातिका युवाको आकर्षण बढिरहेको छ । दुर्गममा समेत यो व्यवसाय फस्टाएको छ ।सिलाइ कटाइको माग बढेपछि आम्दानी पनि बढेको छ भने सानो बजारमा समेत टेलरिङ सेन्टर खुल्ने क्रम बढ्दै गएका छन् । जाजरकोट कपडा तथा सिलाइ कटाइ व्यवसायी संघका अध्यक्ष मीलन परियारले यो व्यवसायलाई व्यवसायीकरणमा जोड दिनु पर्ने बताए । गाउँमै रोजगारी पाइन थालेपछि गरिबीका कारण ज्यालादारी काम खोज्दै भारतको कालापहाड धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । विभिन्न सीप सिकेर स्वरोजगार बन्ने क्रम बढ्दै गएको छ । जिल्लामा करिब ६ सय टेलरिङ सेन्टर युवाले सञ्चालन गरी रहेका बताइएको छ ।

 

Translate »