‘भ्रष्टाचार विरुद्ध साझा लडाई लडौं’

भ्रष्टाचार प्रगतिको बाधक : प्रदेश प्रमुख कलौनी


स्काई न्यूज /माघ २८, सुर्खेत ।
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार देशबासीको साझा शत्रु भएकाले सामूहिकरुपमा भ्रष्टाचार विरुद्ध सक्रिय हुने पर्ने बेला आएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बुधबार वीरेन्द्रनगरमा बोल्दै प्रदेश प्रमुख कलौनीले भ्रष्टाचार रोकथामका लागि समाजका सबै पक्षको समान सहभागिता अपरिहार्य रहेको औल्याए । ‘राज्यले लिएको शून्य सहनशीलताको नीति अवलम्बन गरेपनि मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार निर्मूलीकरण चिुनौति बन्दै गएको छ,’ उनले भने, ‘भ्रष्टाचार निवारण गर्न सबै तह तप्काको रचनात्मक सुझाव तथा सहयोग आवश्यक छ ।’ उनले राज्यको सेवा सुविधामा जनताको सहज पहुँच पु¥याउन आयोगले आफ्नो भूमिकालाई रचनात्मक एवं प्रविधिमैत्री बनाउन तर्फ सुझाव दिए । कार्यक्रममा प्रदेश सभामुख राजबहादुर शाहीले असल नागरिकको आचरणले नै भ्रष्टाचार अन्त्य गर्न सकिने बताए । उनले एउटा परिवारको मनोविज्ञानबाट त्यही परिवार, संमाज, संस्था र राज्यका निकायमा भ्रष्टाचारको प्रभाव बढ्दै गएको विचार व्यक्त गरे । उनका अनुसार नैतिकता गुमाएर पैसाको पछि लाग्ने संस्कृति अन्त्यका लागि सबैको साझा प्रयास अपरिहार्य हुन्छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन छुट्टै स्वतन्त्र निकायको रुपमा विकास गर्न आवश्यक रहेको जिकिर गरे । उनले समाजमा मानिसको प्रतिष्ठा भनेकै सम्पत्ती हो भन्ने मानसिकताको विकासले भ्रष्टाचारीको संख्या बढ्दै गईरहेको बताए । ‘गलत मानव सोच, चेतना र दृष्टिकोणले भ्रष्टाचार बढ्दै गईरहेकाले अब अध्ययन अनुसन्धान तथा नियन्त्रणका लागि कारणहरु समेत खोतल्नु पर्ने बेला आएको छ,’ उनले भने, ‘व्यक्तिको वार्षिक आम्दानी र खर्चको हिसाब गरे उसको आम्दानीको स्रोत र अवैधानिक कार्य सजिलै भेटिने हुँदा अकुत सम्पतिले निर्माण गरिने संरचना भन्दा नैतिकता र व्यक्तित्वलाई बचाउन सबै सचेत हुनै पर्छ ।’ उनका अनुसार आयोगको काम प्रशंसनिय हुँदाहुदै पनि ठूला पदमा बसेका भ्रष्टाचारीलाई समेत अनुसन्धानको दायरामा ल्याईनु पर्छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सम्भ समाज निर्माणका लागि भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिए । उनले समाजमा व्यक्तिको सामाजिक उचाई नाप्ने मानक पैसा नै ठान्ने संस्कारले जो सुकैले कुकर्मबाट अकूत सम्पति आर्जन गर्ने होड चलेको जिकिर गरे ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले अख्तियारले साना कुरामा नभई ठूला अनियमितता र भ्रष्टाचारका घटनामा ध्यान दिनुपर्ने सुझाव दिए । कार्यक्रममा आयोग सुर्खेत कार्यालय प्रमुख रमेश गौतमले भ्रष्टाचार न्यूनिकरणका लागि आम नागरिकको सहयोगबाट संस्थागत रणनीति तथा योजना बनाएर अघि बढिरहेको जनाए । उनले नागरिकसँगको हालमालोबाटै प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लुकेको भ्रष्टाचारलाई अन्त्य गर्न सकिने जिकिर गरे । दिवसमा आरङ्ग नेपाल सुर्खेतका कलाकारहरुले भ्रष्टाचार निवारणसम्बन्धि व्यंग्यात्मक लघु नाटक समेत प्रस्तुत गरेका थिए ।

Translate »