प्रेम दिवसमा गुलाबको कारोबार ६० लाख रुपैयाँले घट्ने

माघ २७,काठमाडौं ।
यस वर्षको प्रेम दिवसमा गुलाब फूलको कारोबार ६० लाख रुपैयाँले घट्ने अनुमान गरिएको छ । कोरोना महामारीका कारण यस वर्ष मानिसमा चाडपर्वको खासै उत्साह र रौनक नदेखिएकाले कारोबार घट्ने अनुमान गरिएको हो । नेपाल पुष्प व्यवसायी संघको तथ्यांक अनुसार गतवर्ष प्रेम दिवसको अवसरमा १ करोड ६० लाख रुपैयाँको गुलाबको कारोबार भएको थियो । तर यस वर्ष १ करोड रुपैयाँ बराबरको मात्र कारोबार हुने देखिएको संघले बताएको छ । हरेक वर्षको फेब्रुअरी १४ लाई प्रेम दिवसका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेका छ । प्रेम दिवसमा वर्षकै सबैभन्दा बढी गुलाबको कारोबार हुने गरेको व्यवसायीहरू बताउँछन् । यस वर्ष भने कोरोना महामारीका कारण मानिसमा चाडपर्व वा दिवस विशेषको उत्साह घटेकाले कारोबारमा कमी आउने अनुमान गरिएको संघका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

‘अघिल्ला वर्षहरूमा प्रेम दिवसको हप्ता शुरू भएदेखि नै बजारमा एक किसिमको रौनक शुरू हुन्थ्यो, फूल तथा गिफ्ट पसलमा भीडभाड बढ्ने गर्दथ्यो । यो वर्ष त्यस्तो केही छैन,’ उनले भने । कोरोनाका कारण गतवर्षको तुलनामा गुलाबको स्थानीय उत्पादन र बजार मागमा समेत ४० प्रतिशतले कमी आएको संघले बताएको छ । यस वर्ष डच रोज तथा कलकत्ते लोकल रोज गरी करीब १ लाख २० हजार स्टिम (डाँठसहितको) गुलाबको माग हुने अनुमान गरिएको छ, जसमध्ये ९६ हजार भारत लगायत मुलुकबाट आयात हुन्छ भने २४ हजार मात्र नेपालको आन्तरिक उत्पादनले धान्ने बताइएको छ । यो नेपालभरिको अनुमानित बजार माग हो । नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा सरदर ८ हजार स्टिम गुलाब फूलको माग रहने गरेको छ । फूलको गुणस्तर अनुसार प्रतिगोटा उपभोक्ता मूल्य ६० रुपैयाँ देखि १०० रुपैयाँ पर्ने संघले बताएको छ ।
काठमाडौं उपत्यकामा मात्र करीब ७२ हजार स्टिम गुलाब खपत हुने गर्दछ । बाँकी ४८ हजार काठमाडौं उपत्यका बाहिरका शहरमा खपत हुने गरेको छ । यसअघिका दुईओटा प्रेम दिवसको तथ्यांक हेर्दा यो अनुमानित माग सबैभन्दा कम हो । २०७६ को प्रेम दिवसमा २ लाख स्टिम गुलाबको खपत भएको थियो भने २०७५ मा १ लाख ६० हजार खपत भएको थियो । प्रेम दिवसको साताभर माग हुने कुल गुलाबको ८० प्रतिशत परिमाण भारतबाट आयात गरिन्छ भने बाँकी २० प्रतिशत माग मात्र नेपालको आन्तरिक उत्पादनबाट पूरा गरिन्छ । नेपालमा चिसो मौसममा गुलाबको उत्पादन कम हुने भएकाले पनि आन्तरिक उत्पादनले गुलाबको माग धान्न नसकिने अध्यक्ष श्रेष्ठले बताए । संघको तथ्यांक अनुसार पुष्प व्यवसायमा ६ अर्ब लगानी भएको छ भने ४३ जिल्लाका १५३ हेक्टर क्षेत्रफलमा पुष्पखेती हुँदै आएको छ । गुलाबको व्यावसायिक खेती भने काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र चितवनमा मात्र हुने गरेको छ । संघका अनुसार समग्र पुष्प व्यवसायमा ७०० भन्दा बढी संलग्न छन् भने यस व्यवसायबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजारले रोजगारी पाएका छन् ।

 

Translate »