उत्तराखण्ड हिमनदी विस्फोट : बेपत्ताको सूचीमा ११ जना नेपाली

नयाँदिल्ली — भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बेपत्ता छन् ।

उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् । सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ । हराइरहेका नेपालीहरुमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएका थिए ।

तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना खुलाइएको छ । उनको ठेगाना कैलालीको टकापुर उल्लेख छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरुको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नगरिएको हुँदा थप नेपालीहरु बेपत्ता भएको हुनसक्ने आंशका गरिएको छ ।

तपोवनस्थित जलविद्युत्‌ परियोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धार गर्दै आईटीबीपीका सुरक्षाकर्मी तस्बिर : रोयटर्स

यसअघि बेपत्ता भएका भनिएकाहरुमध्ये चार जना नेपालीको जीवितै उद्धार गरिएको थियो । उनीहरुलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले जीवितै उद्धार गरेको थियो । आईटीबीपीका प्रवक्ता विवेक पाण्डेका अनुसार आइतबार साँझ ती चार जना नेपाली गरी जम्मा १२ जनालाई चमोली जिल्लाको तपोवनस्थित जलविद्युत्‌को सुरुङबाट जीवितै उद्धार गरिएको हो । उनीहरु धौलीगगांमा आएको बाढीले बगाएर ल्याएको हिलो र ढुंगाले निर्माणाधीन सुरुङमा फसेका थिए ।

बिहान दस बजेदेखि थुनिएका उनीहरुलाई साँझ पाँच बजे उद्धार गरिएको थियो । उद्धार गरिएका नेपालीहरुमा चित्रबहादुर, बसन्तबहादुर, सन्तबहादुर र किरणबहादुर भएको खुलेको छ । उद्धार गरिएका सबैको चमोलीस्थित आईटीबीपीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता पाण्डेले कान्तिपुरलाई जानकारी दिएका छन् । उद्धार गरिएका बसन्तले आफ्नो स्थायी घर प्यूठान भएको आईटीबीपीद्वारा जारी एक भिडियोमा बताएका छन् । ‘मेरो घर प्यूठानको गौमुखीको रजगरा हो । तपोवनको आयोजनामा काम गर्दैथिएँ । अचानक बाढी आयो । बिहान दस बजेदेखि पाँचसम्म सुरुङमै थुनिएँ । साँँझ उद्धार भयो । मेरो स्वास्थ्य ठीक छ,’ उनले भिडियोमा भनेका छन् ।

आइतबार बिहान उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रेणी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुऱ्याएको छ ।

हिम नदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको बताइएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटिपिसि जलविद्युत् परियोजनामा बढी क्षति पुऱ्याएको थियो ।

अझै पनि तपोवनस्थित एनटीपीसीको जलविद्युत परियोजनाको सुरुङमा कम्तीमा ३५ मजदुरहरु फसेको आशंका गरिएको छ । उनीहरुको उद्धार प्रयास जारी रहेको छ ।

पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपालीहरु उत्तराखण्डको जलविद्युत् र सडक परियोजना काम गर्न जाने गरेका छन् । त्यही भएर आइतबारको बाढीमा हराएकाहरुमध्ये थप नेपालीहरु पनि हुनसक्ने आशंका गरिएको छ ।  (कान्तिपुर)

हराइरहेका नेपालीको सूची

१. सोहन चौधरी, टीकापुर (कैलाली)

२. शंकर चौधरी, नेपाल

३. विष्णु मल्ल, नेपाल

४. गणेश नेपाली, नेपाल

५. जंगबहादुर नेपाली, नेपाल

६. गोविन्द सिंह, नेपाल

७. रणजित सिंह, नेपाल

८. शंकर, नेपाल

९. मकर सिंह, नेपाल

१०. मदन सिंह, नेपाल

११. रमेश, नेपाल

Translate »