सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ : अध्यक्ष शाही

बुद्धिमान पुन /माघ २५, सल्यान ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेश सम्भावनाको खानी भएकाले प्रदेशमा आफ्नै उद्योगधन्दा र कलकारखाना स्थापना गर्नको लागि सरकार र निजि क्षेत्रले सँगसँगै काम गर्ने वातावरण हुनुपर्ने उनले बताएका हुन् ।

आइतवार सल्यानको श्रीनगरमा सल्यान उद्योग वाणिज्य संघ सल्यानको १०औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश पर्यटनसँगै कृषि, पशुपालन तथा जडिबुटीको भण्डारण भएकाले यहाँ उत्पादन भएको वस्तु राष्ट्रिय र अन्तरराष्ट्रिय बजारमा विस्तार गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

‘सल्यान जिल्लामा बर्षेनी ठुलो मात्रामा टिमुर, अदुवा, सुन्तला उत्पादन हँदै आएको छ, यसले राष्ट्रिय मात्र नभएर अन्तरराष्ट्रिय स्तरका बजारसम्म पनि आफ्नो पहिचान बनाएको छ, हामीले निर्वाहमुखी प्रणालीलाई त्यागेर व्यवसायिकरणमा जोड दिनुपर्दछ, यसको लागि सरकारले लगानीको वातावरण सँगै लगानी सुनिश्चितताको ग्यारेन्टि गर्नुपर्दछ’ उनले भने ।

उनले सल्यानसँगै कर्णाली प्रदेशमा लगानी गर्ने थुप्रै क्षेत्रहरु भएपनि सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको वातावरण सिर्जना गर्ने नसकेको गुणासो गरे । पछिल्लो समय स्थानीय स्तरमा उत्पादित वस्तुको बजारीकरण गर्नु प्रमुख चुनौती भएको उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुर कृष्ण वैधले पछिल्लो समयमा स्थानीय तहले राजस्व संकलनमा वृद्धि गरेर व्यवसायीहरुलाई समस्यामा पारेको गुनासो गरे । उनले राजस्व संकलन गर्ने अधिकार स्थानीय तहलाई भएपनि व्यवसायिकको हितमा काम गर्नुपर्ने बताए ।

यस्तै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले जिल्लामा आर्थिक गतिविधि संचालनका लागी थुप्रै सम्भावना भएको बताउँदै यसको प्राथामिकिरणमा निजि क्षेत्रले जोड दिनुपर्ने बताए । यसका लागि सरकारी क्षेत्रसँग सहकार्य र समन्वय गर्न आवश्यक रहेको उनले बताए ।

Translate »