आजदेखि मौसममा सुधार हुने

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

माघ २५, काठमाडौं ।
पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि प्रभावित मौसम आज (आइतवार)देखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आइतवारदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीवारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो । अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताइन् । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जानकारी दिइएको छ । काठमाडौं उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले आइतवार बढी चिसो महसुस भएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतवार १ दशमलव शून्य डिग्रीमा झरेको छ । काठमाडौंको न्यूनतम तापक्रम शनिवार ३ दशमलव ५ डिग्री सेल्सियस थियो । हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जानकारी दिइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आइतवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आइतवार सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस

 

Translate »