डोल्पाका गाउँ हिमपातले सेताम्य

माघ २३,डोल्पा / जाजरकोट ।
हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ। बिहीबार दिउँसो देखिको मौसम बदलीसँगै रातिदेखि वर्षा र हिमपात सुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ,जिँउ, लिकु, पहाडा,बन्तडी लगायतका बस्तीहरु हिँउले सेताम्यहुनुका साथै बाग्लो हिँउ जमेको छ। त्यसैगरी, तल्लो डोल्पामा पर्ने ठुलिभेरी नगरपालिका,काईके,जगदुल्ला र मुड्केचुला गाउँपालिकामापर्ने अधिकाशं क्षेत्रहरु हिँउले ढाकिएका छन्। उपल्लो डोल्पाका डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ। हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर बनेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिम देखिनै हिँउ पर्न सुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसके छ। हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाँउबस्तीमात्र नभई अग्ला हिमाल,डाँडाकाँडा,बनजंगल हिँउले सेताम्य र मनमोहक देखिएका छन्। मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपातहुने सम्भावना देखिएको छ। हिमाली जिल्लाहरुमा प्रत्येक बर्ष जलवायु परिवर्तनका असरहरु बड्न थालेको बताइएको छ।हिमाली जिल्लाहरुमा आठ दश बर्ष अघिसम्म हिँउदको दुई महिनामै सात–आठ पटक हिँउपर्ने भएतापनि अहिले एक पटक पनि मुश्किलले हिँउपर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए। हिमालमा हिँउ नपर्नु,ताल तलैया नदि नालाका सतह घट्नु,हिमालहरु सुख्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाई छ।


कृषक उत्साहित
लामो समयपछि परेको हिमपातका कारण डोल्पाका कृषकहरु उत्साहित भएका छन्। हिँउले ढपक्क हुनुपर्ने हिँउदकै समयमा बर्षात र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुख्न थालेपछि बर्षभरी कसरी गुजारा गर्ने भनेर कृषकहरु चिन्तित भएका थिए। अग्ला गाउँबस्तीमा हिमपात र अलि होचा गाउँबस्तीमा बर्षात भएपछि जिल्लाभरीका कृषकहरु खुशी हुनुका साथै अन्नबालीका लागि सुबिकाल सुरु छ। जिल्ला भरीनै बिहिबार राति देखि सुरु भएको बर्षातसँगै भएको हिमपातका कारण आलु,गहुँ,जौँ,उवा लगायतका अन्नबालीहरुको सप्रिनुका साथै उत्पादनमा समेत बृद्धिहुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय कृषक भिम प्रसाद देबकोटाले बताए। हिँउदमै परेको खडेरीलेगर्दा खेतमा लागाईएको गहुँ,जौँ आलु सुक्न थालेकाले बर्षभरी कसरी जिविकोपार्जन गर्ने भनेर चिन्तामा थियो,भोकमरीपर्ने होकि भन्ने डर उत्तिकै थियो,तर ढिलै भएपनि बर्षातसँगै हिमपात भयो’देबकोटाले भने।
यार्सागुम्बामा बृद्धि
यस पटक परेको बर्षातसँगै भएको हिमपातले कृषकहरु मात्र नभइ यार्सासंकलकहरु पनि उत्साहित भएका छन्। वहमुल्य जडिबुटी यार्सागुम्बाकालागि अत्याधिक चिसो आवाश्यकपर्ने भएकाले भारी हिमपात र बर्षातले यार्सागुम्बाको परिमाण सँगै गुणस्तरमा समेत बृद्धिहुने स्थानीय संकलकहरुले भनाइ छ। जिल्लाबासीको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा अघिल्लो बर्ष कोरोना भाइरसका कारण जिल्लाभरीनै संकलनमा प्रतिवन्ध लगाइएको थियो। प्रत्येक बर्ष जेठ पहिलो साता देखि असार अन्तिमसँग यार्सागुम्बा संकलन गर्ने गरिन्छ। हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ। धावनमार्गमा बाग्लो हिँउ जमेका कारण विहिबार सबै उडानहरु रद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ। काठमाण्डौ र नेपालगञ्ज देखि कुनै पनि उडानहुन नसकेको प्राधिकरणको भनाइ छ। यस पटक बर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास स्थानीयले लिएका छन्।(थाहा खबर)

Translate »