सुर्खेत क्याम्पस (शिक्षा) बहुमुखि हुँदै

यसै सत्रदेखि वीवीएस कार्यक्रम लागु गर्ने तयारी


स्काई न्यूज माघ २२, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित वीरेन्द्रनगरमा रहेको सुर्खेत क्याम्पस (शिक्षा) बहुमुखि क्याम्पसमा परिणत हुने तयारी शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय आंगिक क्यापस अन्तर्गत सञ्चालित सुर्खेत क्याम्पस (शिक्षा) लाई बहुमुखि क्याम्पस बनाउने तयारी शुरु भएको छ । पहिलो पटक शिक्षा क्याम्पसले वीवीएस कार्यक्रम थप गर्ने तयारी शुरु गरेसँगै बहुमुखि उन्मुख भएको हो । विहीबार प्रस्तावित वीवीएस कार्यक्रम सञ्चालनका लागि स्थलगत अध्ययन तथा सरोकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन डिल्लीराज शर्माले त्रिभुवन विश्वविद्यालयको क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत सुर्खेत क्याम्पस शिक्षामा वीवीएस कार्यक्रम सञ्चालन तयारी गरिरहेको जनाए । उनले शिक्षा संकायमा मात्र सीमित सुर्खेत क्याम्पस शिक्षालाई बहुमुखि क्याम्पसको रुपमा रुपान्तरपण गर्न लागिएको जानकारी दिए । उनले समयको माग अनुसार सुर्खेत क्याम्पस शिक्षालाई एउटा मात्र संकायका मात्र सीमित नराखेर बहुमुखि संकायमा विस्तार गर्न लागिएको बताए ।

त्यस्तै कार्यक्रममा उक्त संकायका सहायक डीन दिनेशमणि घिमिरेले शिक्षा क्याम्पसलाई प्रदेशकै मोडल क्याम्पसको रुपमा विकास गर्न लागिएको जानकारी दिए । उनले वीवीएस मात्र सीमित नभई व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विषयको पढाई हुने तयारी थालिएको जनाए । जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर सुर्खेतका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले कर्णाली क्षेत्रको आवश्यकतामा आधारित अध्ययन, अनुसन्धानपछिको विषय वस्तुमा आधारित शिक्षाको पठनपाठन शुरु गर्नु पर्नेमा जोड दिए । उनले कर्णालीमा परम्परागत शिक्षा प्रणालीबाट माथि उठेर समयको माग अनुसारको पाठ्यक्रम तयार गरेर अध्ययन तथा अध्यापन गराउन आवश्यक रहेको औल्याए । उनका अनुसार विश्वविद्यालयहरु राजनीति गर्ने थलोको रुपमा मात्र केन्द्रित नभई गुणस्तरीय पठनपाठन हुने शिक्षा केन्द्रको रुपमा विकास गरिनु पर्छ । कार्यक्रममा बोल्ने अधिकांस वक्ताले शिक्षा क्याम्पसमा वीवीएस कार्यक्रम शुरु गर्ने तयारी सकारात्मक भएपनि यस क्षेत्रको आवश्यकतामा आधारित शिक्षाको पठन पाठन ल्याउन आवश्यक रहेको औल्याए । उनीहरुका अनुसार वीवीएस पाठ्यक्रम आज भन्दा ५ वर्ष पहिलेदेखि नै सुर्खेतका करिब आधा दर्जन क्याम्पसले पठनपाठन गराउँदै आएका छन् । कार्यक्रममा शिक्षा क्याम्पसका प्राचार्य माधव खनाललगायतले ढिलैभएपनि एउटा संकायमा मात्र सीमित सुर्खेत क्याम्पस शिक्षालाई त्रिभुवन विश्वविद्यालयले बहुमुखि बनाउन लागेकोप्रति कृतज्ञ प्रकट गरे ।

Translate »