जुम्ला–मुगु जोड्ने सडक स्तर वृद्धिमा बजेट अभाव

५२ करोड बजेट आवश्यक

माघ २२,जुम्ला ।
जुम्ला उर्थु पटमारा खाली न्याउरीघाट हुँदै मुगु जोड्ने बहुवर्षीय सडकमा बजेट अभावले १८ किलोमिटर सडक निर्माण हुन सकेको छैन । मुगुको राराताल पुग्ने सबैभन्दा छोटो पर्यटकीय मार्गको १८ किमी सडक खण्ड बजेट अभावले निर्माण हुन सकेको छैन । जुम्ला उर्थु खाली बुलबुले हुँदै मुगु जोड्ने सडकको जम्मा दुरी ४० किलोमिटर हो । जसमा २१ किमी सडकमा चार प्याकेज अन्तर्गत विभिन्न काम भइरहेको छ । तर बाँकी १८ दशमलव ५ किमी सडकमा बजेट नहुँदा कुनै काम सुरु गर्न नसकिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलले बताए । जुम्ला हुँदै मुगु रारा पुग्ने सबैभन्दा छोटो उक्त सडकलाई पर्यटकीय मार्गका रुपमा विकास गर्ने भनिए पनि पर्याप्त बजेट नहुँदा बीचमै अलपत्र परेको हो ।

नाग्म गमगडी सडकभन्दा जुम्ला उर्थु सडकबाट मुगु रारा ताल करिब ३ घण्टा छिटो पुग्न सकिन्छ । प्रमुख रावलले भने,“पटमारादेखि बागमारे सम्म १३.५ किमी र चौथा गाउँदेखि बुलबुलेसम्म ५ किमी गरी जम्मा १८.५ किमी सडकको स्तरउन्नती बजेट अभावले हुन सकेको छैन । आवश्यकताभन्दा राजनीतिक स्वार्थमा बजेट छुटाइने भएकै कारण बहुवर्षीय योजना बजेट अभावले अलपत्र पर्ने अवस्था छ ।” बाँकी जुम्लादेखि उर्थु, बागमारेदेखि न्याउरीघाट र न्याउरी घाटदेखि काभ्रा गाउँसम्मको २१ किमी सडक विस्तारको तथा स्तरउन्नती धमाधम भइरहेको प्रमुख रावलको भनाई छ । उनका अनुसार सडक चौडा गर्ने, ग्राभेल गर्न आवश्यक ठाउँमा नाला र ग्यामिन पर्खाल निर्माणको काम भइरहेको हो । निर्माण भइरहेको २१ किमी सडक मध्ये ११ किलोमिटर सडक चौडा गर्ने, पर्खाल, नाला निर्माण गर्ने र १० किमी सडकमा ग्रोभल गर्ने पूर्वाधार कार्यालय प्रमुख रावलले उल्लेख गरे ।

५२ करोड बजेट आवश्यक
कर्णालीको पूर्वाधार विकासले गति नलिनुको मुख्य कारण भनेकै बजेट अभाव हो । पूर्वाधार विकासलाई प्राथमिकता दिएको कर्णाली सरकारीले आवश्यकता अनुसार लगानी गर्न नसकेको पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलको भनाई छ । बहुवर्षीय योजना (जुम्ला उर्थु न्याउरीघाट बुलबुल हुँदै मुगु) जोड्ने सडकको अलपत्र १८ किमी सडक स्तरउन्नतीका लागि करिब ५२ करोड बजेट आवश्यक पर्ने रावलले बताए । ट्र्याक खोल्ने बाहेक अरू सबै काम बाँकी रहेकाले अनुमानित ५२ करोड आवश्यक पर्ने देखिएको छ । उनले भने,“उक्त १८ किमी सडकमा चौडा पर्ने, नाला बनाउने, ग्यामिन पर्खाल निर्माण गर्ने र ग्राभेल गर्नका लागि ५२ करोड चाहिन्छ । तर पटक पटक स्टमेटसहितको बजेट माग गर्दा पनि सुनुवाइ भएन । जसका कारण अहिलेसम्म ठेक्का समेत लगाइएको छैन । गएको केही महिनाअघि कर्णालीका मुख्यमन्त्री, कानुन मन्त्री, सामाजिक विकास मन्त्रीको टोली उक्त सडक अनुगमनमा पुगेर यर्थात थाहा पाउँदा समेत बजेट जुट्न सकेको छैन । वर्षौँ पहिले ट्र्याक खोलिएको जुम्ला मुगु जोड्ने सडकको हालसम्म पनि स्तरवृद्धि नहुँदा जीर्ण बन्दै गएको छ । उक्त सडक निर्माण भई सुचारु भएमा जुम्लाको आर्थिक, सामाजिक विकाससँगै पर्यटकीय गतिविधि बढ्ने छ । जुम्ला र मुगु बासीको जनजीवनसँग जोडिएको उक्त सडकको विकासमा कर्णाली सरकारले ध्यान दिनुपर्ने नागरिक अगुवा राजबहादुर महतको तर्क गरे ।

 

Translate »