६ दिनमै रू. १६ लाखको मार्सी चामल विक्री

माघ २२,काठमाडौं ।
खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको विक्री शुरू गरेको हो । कम्पनीले प्रतिकिलो २ सय २५ रुपैयाँका दरले हाल सम्म कुल १६ लाख २ हजार २ सय २५ रुपैयाँ बरावरको ७ सय २१ केजी चामल विक्री गरिसकेको छ । विक्री शुरू गरेको पहिलो दिनमै खाद्यले २० हजार ९ सय २५ रुपैयाँको ९३ किलो चामल विक्री गर्न सफल भएको थियो । दोस्रो दिनमा ३२ हजार ४ सय रुपैयाँको १ सय ४४ किलो विक्री भयो । तेस्रो र चौथो दिनमा क्रमशः ६ हजार ९ सय ७५ रुपैयाँको ३१ किलो र १७ हजार ३ सय २५ रुपैयाँको ७७ किलो विक्री चामल विक्री भएको थियो । त्यसैगरी पाँचौं दिन ४२ हजार ३ सय रुपैयाँको १८८ किलो विक्री भएकोमा छैटौं दिन पनि त्यति नै मूल्य बराबरको १ सय ८८ किलो चामल विक्री भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार उपभोक्ताहरूले अहिले ठूलो परिमाणमा चामल माग नगरेका कारण १ किलोको प्याकेट बनाएर विक्री भइरहेको छ । कम्पनीले परीक्षणका लागि काठमाडौंमा मार्सीको विक्री शुरू गरेको र राम्रो बजार पाउँदै गएमा भोलिका दिनमा काठमाडौं बाहिरका स्थानहरूमा पनि मार्सी चामल विक्री गर्ने योजना रहेको उनले बताइन् । कम्पनीले मार्सीको ब्रान्डिङ गरी परीक्षणका लागि पहिलोपटक बजारमा ल्याएको उक्त मार्सी चामल कर्णाली प्रदेशको सुर्खेतबाट २ सय ७० क्वीन्टल खरीद गरेर ल्याइएको हो । जुम्लाको मार्सीलाई अझ बढी प्रवर्द्धन गरी ठूलो परिमाणमा बेच्न कम्पनीले यसै वर्ष ५ सय मेट्रिकटन खरीद गर्दै छ । खरीदका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र अबको केही समयमै खरीद हुने न्यौपानेले बताइन् । कम्पनीले भर्खरै मात्र विक्री थालेको यस चामलप्रति अहिले उपभोक्ताको उत्साहजनक र आशलाग्दो प्रतिक्रिया पाइएको पनि उनले जानकारी दिइन् । कम्पनीले स्थानीय स्तरमा उत्पादन भएका अन्य खाद्य सामग्रीहरू दाल, कर्णालीको सिमी, तितेफापर, घ्यूलगायतका खाद्यवस्तु समेत विक्री तथा प्रवर्द्धन गर्दै आएको छ । हाल कम्पनीसँग करीब ८ हजार मेट्रिकटनभन्दा बढी चामल, १ सय ४२ मेट्रिकटन गहुँ मौज्दात रहेको छ ।

Translate »