डन्डीको मूल्य प्रतिकेजी चार रुपैयाँ घट्यो

सरकारको हस्तक्षेपछि स्वदेशी बजारमा केही कम्पनीले फलामे डन्डीको मूल्य घटाएका छन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविक मूल्य प्रतिकेजी चार रुपैयाँका दरले घटाएका हुन् । मूल्य घटाएसँगै बजारमा डन्डी प्रतिकेजी ७७ रुपैयाँ कायम भएको जनाइएको छ । पछिल्लो एक महिनायता बजारमा डन्डीको मूल्य बढेको थियो । डन्डीको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविकरुपमा मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई परेको थियो । दुई वटा उद्योगले डन्डीको मूल्य घटाए पनि अन्य उद्योगले भने अझै घटाएका छैनन् । बजारमा डन्डीको मूल्य कम्पनीपिच्छे फरक रहेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र व्यवसायीहरूबीच भएको छलफलपछि दुईवटा स्टील उद्योगले मूल्य घटाएका हुन् । विभागका प्रवक्ता शिवराज सेढाईले दुइवटा उद्योगले प्रतिकेजी डन्डीमा चार रुपैयाँ मूल्य घटाएको जानकारी दिए । अन्य उद्योगलाई पनि मूल्य घटाउन निर्देशन दिइएको उनको भनाइ छ । बाहिरबाट मूल्य बढेर आएकाले बजारमा डन्डीको मूल्य बढेको र अहिले घटेकाले सामान्य घटाएको व्यवसायीले बताएका छन् । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपैयाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपैयाँसम्म मूल्यवृद्धि गरेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बढेर आएको भन्दै स्थानीय बजारमा मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना बजार अनुगमन प्रभावकारी नहुँदा व्यवसायीले डन्डी र सिमेन्टमा मूल्य बढाएको बताउँछन । बजारमा अहिले खाने तेल र डन्डीमा अस्भाविकरुपमा मूल्य बढेको छ, उनले भने–“बढी मूल्य लिई ठगी गर्ने व्यवसायीलाई कारबाही नहुँदा व्यवसायीले मनपरी ढंगले मूल्य लिइरहेका छन् ।” उत्पादन र ढुवानी लागत बढेकाले सिमेन्ट र डन्डीको मूल्यमा सामान्य बढ्न गएको व्यवसायीको भर्ना छ । लामो समयसम्म भएको लकडाउनका कारण निर्माणको काम रोकिएको थियो । पछिल्लो समय घर निर्माणको काम तीव्र रूपमा भएकाले पनि खपत बढ्न गई मूल्य बढेको व्यवसायीको भनाइ छ । कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनका कारण निर्माणको काम रोकिएको थियो । लकडाउन खुला भएसँगै घर निर्माणको काम पनि तिव्ररुपमा अगाडि बढेको छ । यसैबीच, चालू आर्थिक वर्षको ६ महिनामा आइरन स्टील तथा स्टीलका उत्पादनको आयात ८।५ प्रतिशतले बढेर ७३ अर्ब २५ करोड ५८ लाख ८५ हजार रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ६७ अर्ब ५१ करोड १२ लाख ९० हजारको आयात भएको थियो । (कारोबार)

Translate »