आयुर्वेद स्वास्थ्यकर्मी समाजकोे अध्यक्षमा केसी

‘आयुर्वेदको विकासमा प्रदेश सरकार बाधक’

स्काई न्यूज /माघ १९, सुर्खेत ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सुर्खेतको अध्यक्षमा पवन केसी चयन भएका छन् । समाजको शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । समितिको सचिवमा बिनिता बम ठकुरी, कोषाध्यक्ष घनश्याम सारु मगर तथा सदस्यमा सरिता घिमिरे, सुविना सुनार, लोकप्रसाद रेग्मी, सरिता अधिकारी, केशबप्रसाद उपाध्याय, रमिता आचार्य रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई सामाजिक विकास मन्त्रालय आयुर्वेद शाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारी, प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकाल, डा. दिपेन्द्र रानाभाट, डा. यादवप्रसाद उपाध्याय, आयुर्वेद औषधि ब्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष पूर्णप्रसाद अचार्य, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश सल्लाहकार समिति सदस्य श्रीराम आचार्य, कर्णाली प्रदेश अध्यक्ष दिपेन्द्र कँडेल, सचिव छबिलाल खड्कालगायतले सफल कार्यकालको शुभ कामनासँगै बधाई दिएका थिए ।

बधाई कार्यक्रममा बोल्ने अधिकांसले आयुर्वेद स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास बढ्दै गईरहेका बेला कर्णाली प्रदेश सरकारले आयुर्वेदलाई संकुचित र औचित्यहिन बनाउने कार्यमा लागिरहेको आरोप लगाए । उनीहरुले प्रदेश सरकारबाट आयुर्वेदलाई नविनतम् प्रविधिको प्रयोग गर्दै समयानुकुल विकास गरेर फैलाउनुको साटो प्रदेशमा भएका आयुर्वेद स्वास्थ्य संस्थालाई खुम्च्याउँदै एलोपेथिक शाखामा लगेर मर्ज गरि दिएको गुनासो गरे । उनीहरुका अनुसार प्रदेश सरकारले दुबै फरक विधाका चिकित्सा प्रद्धतीलाई एउटै कोठामा खुम्च्याएर आयुर्वेदको विकासमा बज्रपात गरिरहेको छ । समाजका कर्णाली प्रदेश सचिव खड्काले प्रदेश सरकारसँग प्रत्येक स्थानीय तहमा तत्कालै आयुर्वेद स्वास्थ्य संस्थाको स्थापना गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत पटक–पटक राख्दै आएको जनाए । उनले स्वतन्त्र आयुर्वेदको विकासका लागि समाजले राखेका माग प्रति सम्मानजनक रुपमा सुनुवाई नभए प्रदेश सरकार विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार प्रदेश सरकार कर्णालीमा आयुर्वेदको विकासप्रति बाधक बन्दै आईरहेको छ ।

 

Translate »