जाजरकोटमा ठगि गर्ने चार जना पक्राउ


बद्री पन्त/जाजरकोट १९, माघ ।
सौर्य उर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै नक्कली कागजात बनाएर ठगि गर्ने गिरोहलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका विभिन्न वडाबाट रकम संकलन गरेर स्थानीयलाई ठगि गरेको आरोपमा उनीहरु पक्राउ गरिएको हो । चन्दननाथ नगरपालिका ९, जुम्ला स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने वर्ष २६ का यज्ञप्रसाद रेग्मी र सोही ठाँउका ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, बारेकोट १ रामीडाँडाका ४० वर्षीय हरिचन्द्र बस्नेत र सोही ठाँउका ३३ वर्षीय मानबहादुर महतारा रहेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जनाए । उनले गिरोहको साथबाट ४ लाख ५० हजार रुपैंयाँ समेत बरामद भएको बताए । उनका अनुसार अहिले गिरोहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको छ । जिल्लाको नलगाड नगरपालिकाले ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थालाई सोलार वितरणका जिम्मा दियो ।

संस्थाले अति विपन्न परिवारका लागि ८० वाट क्षमताको सौर्य उर्जा र ३५ केजी तौलको सुधारिएको चुलो जडान गरिदिने भन्दै प्रत्येक घरधुरीबाट तीन हजार सात सय ५० रुपैयाँ संकलन ग¥यो । सोलार र चुलोको मुल्य २५ हजार पर्ने भएपनि २१ हजार दुई सय ५० रुपैयाँमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र ग्रामिण विकास तथा क्लीन इन्भरमेन्टले ब्यहोर्ने भन्दैै नागरिकलाई झुक्याईयो । तर, नगरका वडाध्यक्षहरुले नगद बुझेको नगदी रसिद नदिएर सामान बुझेको भरपाई गराएका थिए । एउटै वडाबाट ६ लाख रुपैयाँसम्म संकलन गरेको स्थानीय छवि पन्तले जानकारी दिए । उनले नगरपालिकाका १३ वटै वडाबाट संकलित रकम वडाध्यक्षहरुले बैंक मार्फत संस्थाको खातामा पठाएपछि फारम भरेको ४५ दिन भित्र समान उपलब्ध गराउने सम्झौंता गरिएको जनाए ।

यता बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भरपाई लगायतका कुरामा समेत शंकास्पद देखिएपछि उनीहरुको ठगि धन्दा सार्वजनिक बताए । उनले संस्थाको आधिकारिकता बुझ्दै नबुझी अनुमति दिएकोले स्थानीय ठगिन पुगेको जनाए । उनका अनुसार आफ्नो संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले आइतवार एक विज्ञप्ती प्रकाशित गरि केन्द्रको कुनै सहकार्य, समन्वय र साझेदारी नरहेको स्पष्ट पारेको थियो । केन्द्रका नायव कार्यकारी निर्देशक तथा प्रवक्ता नवराज ढकालले अनाधिकृत दुष्प्रचार र गलत कार्य गर्ने संस्थासँग सजग रहन विज्ञप्तीमा मार्फत आग्रह गरिएको थियो । ‘ग्रामिण विकास तथा क्लीन इन्भरमेन्ट नेपाल नामक संस्थाले अनाधिकृत रुपमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्य रहेको दुष्प्रचार गदै जाजरकोट लगायतका केही जिल्लाका विभिन्न समुदाय, घरधुरीबाट सौर्य ऊर्जा र सुधारिएको चुलो जडानको लागि अमन इन्टेरियर एण्ड डेकोरेशन विजनेश ग्रुप नामक संस्थालाई जिम्मेवारी दिइएको भनी रकम संकलन गरेको जानकारी प्राप्त भएकोले उक्त संस्थासँग यस वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग कुनै समन्वय, सहकार्य र साझेदारी नरहेको विज्ञप्तीमा भनिएको छ । जाजरकोटमा यस अघि सोलार जोड्ने बहानामा नागरिकलाई ठगि गर्ने गिरोह पक्राउ परिसकेका छन् ।

Translate »