एमयु र चाईना थ्री गोर्जेस वीच सम्झौंता


स्काई न्यूज/ माघ १७, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच शैक्षिक सहकार्यका लागि दुई पक्षीय सम्झौंता भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालयका प्रिजिडेन्ट ही वेइजुन वीच शनिबार सुर्खेतको वीरेन्द्रनगरमा दुई पक्ष वीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्व विद्यालय बीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्नु सम्झौताको मुख्य उदेश्य रहेको विश्वविद्यालयका उपप्राध्यापक तथा सूचना प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिए । उनले सम्झौता पत्रमा दुई विश्वविद्यालय वीच प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थी आदान–प्रदान हुने उल्लेख गरिएको जनाए । ‘दुबै विश्वविद्यालयले सामुहिकरुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडी बढाउन सकिने सम्झौतामा उल्लेख गरिएको छ,’ उनले भने, ‘विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनुका साथै एकआपसमा विभिन्न शैक्षिक जानकारी तथा समाग्रीहरु आदान–प्रदान गरिने छन् ।’ उनले सम्झौताको मर्म पुरा गर्न दुबै देशको कानून र सम्झौंताको परिधिमा टेकेर विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु अब सञ्चालन गरिने बताए । उनका अनुसार दुई विश्वविद्यालय बीच भएको सम्झौताको अवधि पाँच बर्षको हुनेछ । त्यस पश्चात स्वतः नवीकरण हुनुका साथै आपसी समझदारी र छलफल पश्चात लिखितरुपमा सम्झौंता संसोधन गर्न सकिने व्यवस्था सम्झौतामा रहेको उनले जानकारी दिए । ‘चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ्ग र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयका लागि विश्वमै प्रख्यात छ,’ उनले भने, ‘त्यस विश्वविद्यालयमा स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु समेत पढाई हुने गरेका छन् ।’ उनले सम्झौंता पश्चात चीनकै एक अग्रिणी, प्रख्याति प्राप्त चाइना थ्री गोर्जेस विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीच कार्यरत प्राध्यापक, शोधकर्ता, कर्मचारी तथा अध्ययनरत विद्यार्थीले अब प्रत्यक्ष शैक्षिक लाभ लिन सकिने बाटो खुलेको जिकिर गरे ।

Translate »