अख्तियारको सुस्त अनुसन्धानसँगै कार्वाही न्यून

वर्षेनी स्थानीय तह विरुद्ध भ्रष्टाचारका उजुरी संख्या बढ्दै


स्काई न्यूज माघ १५, सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता हुने धेरै उजुरी स्थानीय तहका रहेका छन् । कार्यालयले अधिकांश उजुरी स्थानीय तहबाटै दर्ता हुने गरेको बताएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा दर्ता भएका कुल ८ सय ९७ उजुरी मध्ये ४ सय ६५ वटा उजुरी स्थानीय तहका रहेका छन् । ती मध्ये स्थानीय तहका शिक्षासँग सम्बन्धित १ सय १३ वटा उजुरी दर्ता भएका छन् । हाल स्थानीय तहका कुल ९८ वटा उजुरी फछ्र्यौट भएको आयोगले बताएको छ । प्रदेशमा जिल्लागतबाट सबै भन्दा बढी दैलेखबाट ७७, सुर्खेतबाट ६२, कालिकोटबाट ५०, जाजरकोटबाट ४४, मुगु र जुम्लाबाट २७÷२७, सल्यानबाट २०, डोल्पा र रुकुम पश्चिमबाट १७÷१७, हुम्लाबाट २४ वटा उजुरी परेका छन् । सुर्खेतका स्थानीतह विरुद्ध परेका उजुरी मध्ये भेरीगंगा नगरपालिका पहिलो स्थानमा रहेको छ । भेरीगंगाबाट २८, वीरेन्द्रनगर नगरपालिकाबाट २३, लेखबेसीबाट ८, चिङ्गाडबाट ६, सिम्ता र बराहताल गाउँपालिकाबाट ५÷५, गुर्भाकोट नगरपालिकाबाट ४, चौकुने गाउँपालिकाबाट २ र पञ्चपुरी नगरपालिकाबाट एउटा मात्र उजुरी परेको आयोगका सुर्खेत प्रमुख नारायणप्रसाद रिसालले जानकारी दिए । उनले विहीबार सुर्खेतको वीरेन्द्रनगरमा पछिल्लो ६ महिनाको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गर्दे ८ सय ९७ उजुरी दर्ता भएको मध्ये १ सय ९६ उजुरी फछ्र्यौट भईसकेको बताए ।

‘सात सय ९ उजुरी बाँकी छन् । फछ्र्यौट भएका उजुरीमध्ये जम्मा चार वटा उजुरी आरोपपत्रमा दायर भएका छन्,’ उनले भने, ‘भ्रष्टाचार विरुद्व गरिएका उजुरी मध्ये ४ वटा उजुरीमात्र भ्रष्टाचार ठहर भै आरोपपत्रमा दायर भएका छन् ।’ उनले आरोपपत्र दायर भएका चारवटा उजुरीमा आठ जना प्रतिवादी उपर १६ लाख ८८ हजार चार सय ६७ बिगो दाबी गरिएको जनाए । उनका अनुसार कार्यालयका १ सय ९६ फछ्र्यौट उजुरीमध्ये तामेली (काम पूरा भएका) –७९, एकीकरण–७०, अनुसन्धानबाट सार्वजनिक पद धारण गरेको व्यक्तिको कामकारबाही अन्य अधिकारी वा निकायको अधिकार क्षेत्र अन्र्तगत पर्ने प्रकृतिको देखिएमा आवश्यक कारबाहीका लागि सम्बन्धित अधिकारी वा निकाय समक्ष लेखी पठाएकोे –१६ उजुरी रहेको छन् । त्यस्तै, विस्तृत अनुसन्धानका लागि–२७, आयोगको अन्य महाशाखा÷कार्यालयमा छानविनका लागि पे्रषित–३ र अन्य निकायमा पठाएको १ वटा उजुरी रहेका छन् । आयोगको सुर्खेतस्थित कार्यालयमा संघीय सरकारविरुद्व दर्ता भएका २ सय ७ उजुरीमध्ये ४५ फछ्र्यौट भैसकेका छन् भने एक सय ६२ उजुरी बाँकी छन् । यस्तै, प्रदेश सरकारविरुद्व दर्ता भएका २ सय २७ उजुरीमध्ये ५३ उजुरी फछ्र्यौट भैसकेका छन् भने १ सय ७४ उजुरी बाँकी छन् । पछिल्लो ६ महिनामा अख्तियार सुर्खेतले एउटा मात्र (स्टिङ्ग अप्रेशन) रंगेहात पक्राउ गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका १०६, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतका ६३ र वाणिज्य र आपूर्ति मन्त्रालय अन्तर्गतका ६३ उजुरी परेका थिए । त्यसैगरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका ३८, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका ३० वटा उजुरी दर्ता भएका छन् । कार्यालयमा प्राप्त भएका उजुरीका आधारमा निर्माण कार्यमा गुणस्तरहीन भएको, छात्रवृत्ति रकमको दुरुपयोग भएको पाइएको कार्यालय प्रमुख रिसालले बताए । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता, कृषि अनुदान वितरण, रोजगार र आर्थिकसँग सम्बन्धित काममा अनियमितता भएको पाइएको उनले बताए । यता सर्वसाधारणले भने अख्तियारमा उजुरीको संख्या वर्षेनी बढ्दै गएपनि सुस्त अनुसन्धान र कार्वाही न्यून हुनुले नैराश्यता आउने गरेको बताउँछन् ।

Translate »