पश्चिम सुर्खेतको तातापानी–घाटगाउँ जोड्ने पुल निर्माण अन्तिम चरणमा

पश्चिम सुर्खेतको तातापानी–घाटगाउँ जोड्ने निर्माणधिन कोसेनीघाट पुलमाथि आफ्ना साथीहरुसँग तस्वीर खिंचाउँदै पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट ।
स्काई न्यूज/ माघ १४, सुर्खेत ।
सूर्य अस्ताउन मात्रै पश्चिम आउँदैन । अब पश्चिम सुर्खेतले समृद्धी र विकासका लागि कोल्टे फेर्दैछ । डोटी, अछाम, पश्चिम दैलेख र कैलालीसँग जीवन्त सम्बन्ध राखेको पश्चिम सुर्खेतलाई समृद्ध बनाउन नदी माथिका पुल जोड्ने कामले तीव्रता पाएका छन् । अहिले बजारमा पश्चिम सुर्खेतको समृद्धिसँगै जोडिएको तातापानी–घाटगाउँ जोड्ने कोसेनीघाट पुलको चर्चा गरम छ । कुइने–विजौरा–गुटु–बेनीघाटहुँदै डोटी जोड्ने उद्देश्यले निर्माण शुरु गरिएको तातापानी–घाटगाउँ जोड्ने भेरी नदी माथिको पुल निर्माण कार्यले तीव्रता पाएको छ । कोरोना कहरले निर्माण सामाग्री अभावमा रोकिएको पुलको काम अहिले स्थिती सामान्य बन्दै गएपछि निर्माण कार्यले तीव्रता पाएको हो । हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पुल निर्माणको ठेक्का पाएको अनक–लुम्बिनी जेभीले बताएको छ । जेभीका प्रतिनिधि ईन्जिनियर दिनेशकुमार श्रेष्ठले कुनै भब्यतव्य नआए अबको तीन महिना भित्र पुल निर्माण कार्य सम्पन्न हुने जनाए । ‘तोकिएको समय भन्दा ६ महिना पहिले नै पुल निर्माण सकेर सरकारलाई जिम्मा दिने लक्ष्य थियो,’ उनले भने, ‘तर वीचमै एक्कासी कोरोना कहरले निर्माण सामाग्री र मजदुर अभावलगायतका कारणले काममा ढिलाई भएपनि अब अहिले स्थिती सामान्य बन्दै गएपछि पुल निर्माणले गति पाएको हो ।’ उनले पुल निर्माण अवधि २०७८ जेठ मसान्तसम्म रहेको जनाए । उनका अनुसार पुल निर्माणका लागि अनक–लुम्बिनी जेभीले ४ वर्ष भित्र पुल निर्माण गरिसक्ने गरि २०७४ मंसिरमा सडक विभाग, पुल महाशाखासँग भ्याट बाहेक ३४ करोड ४३ लाख रुपैयाँमा सम्झौंता गरेको थियो । पुलको लम्बाई ३ सय ३ मिटर र चौडाई ११ मिटर रहेको छ । रेलिङ, फुटफाथ र दुईतिर सडक पेटी बनाईएका छन् ।

‘यो पुल निर्माणको कामलाई अहिले निकै महत्वका साथ हेरिएको छ । पुल निर्माणसँगै पश्चिम सुर्खेतका गाउँहरुसँगको ‘कनेक्टविटी’ बढ्ने छ,’ पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री एवं नेपाली काँग्रेसका नेता तप्तबहादुर विष्टले भने, ‘पुल निर्माणले घाटगाउँ र कुईने वीच जीवन्त सम्पर्क मात्र होइन, वर्षाको भेलमा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता समेत अन्त्य हुने छ ।’ उनले पुल निर्माणबाट पञ्चपुरी नगरपालिका–११, को कौसेनी घाट र चौकुने गाउँपालिका–९, बेलगौडाको आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘देशमा थुप्रै राजनीतिक परिवर्तन भइसक्यो । अब आर्थिक परिवर्तनको खाँचो छ, जसलाई पश्चिम सुर्खेतका जनताले पर्खेर बसेका छन्,’ उनले भने, ‘राजनीतिक अधिकार, पहिचान र लडाई निरन्तर चल्ने प्रक्रिया हो । त्यो सँगसँगै आर्थिक समृद्धि र विकास महत्वपूर्ण पाटा हुन् ।’ उनले पश्चिम सुर्खेतको समृद्धि र विकासका लागि जनअपेक्षा अनुरुप आफुले निरन्तर लडाई जारी राखेको जिकिर गरे । पञ्चपुरी नगरपालिका–१०, का वडा अध्यक्ष हरि ढकालले पुल निर्माणबाट भेरी र कर्णाली नदी किनारका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने जनाए । उनका अनुसार यो पुल निर्माणसँगै साविक तातापानी, घाटगाउँ, गुटु र विजौरा गाविसका बासिन्दालाई बैकल्पिक सडक मार्गका रुपमा विकास गरिनेछ । त्यस्तै कुइनेका स्थानीय प्रेम बडुवालले जामु र बेलगौडामा पक्की मोटेरेवल पुल बनेसँगै अब प्रस्तावित औद्योगिक नगरी गुटुसँगको आर्थिक तथा सामाजिक सम्बन्धलाई प्रगाढ बढाउन रागमा पक्की पुल बनाउन आवश्यक रहेको औल्याए । उनले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकका लागि राग र जंगलाघाटमा पक्की पुल निर्माण अपरिहार्य रहेको बताए । उनका अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक निर्माणले पहाडी जिल्लाका बासिन्दालाई निकै राहत पुग्नेछ । ‘पश्चिम सुर्खेतका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायतका बजार पुग्नुपर्ने बाध्यता छ । उनीहरुलाई सदरमुकाम वीरेन्द्रनगर भन्दा कैलालीको चिसापानी भौगोलिक रुपमा नजिक पर्छ,’ तातापानीका स्थानीय धनबहादुर माझीले भने, ‘भेरी नदीमा पुल नभएकाले उनीहरुलाई ओहरदोहरमा निकै समस्या हुने गरेको छ । पुल बनेपछि उनीहरु सहजै कैलालीको चिसापानी लगायतका ठाउँमा पुग्न सक्ने छन् ।’ उनका अनुसार अहिले गुटुका बासिन्दा रागमा पुल नहुँदा घुमाउँरो जामुको पुल हुँदै ओहोरो–दोहोरो गरिरहेका छन् । यद्यपि कुइनेदेखि गुटुसम्मको कच्ची सडकमा साना सवारी साधन सहजै चल्ने गरेका छन् ।
पश्चिम सुर्खेतको तातापानी–घाटगाउँ जोड्ने निर्माणधिन कोसेनीघाट पुलमाथि आफ्ना साथीहरुसँग तस्वीर खिंचाउँदै पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट ।