कर्णालीमा कोरोना विरुद्धको खोप शुरु


स्काई न्यूज /माघ १४, सुर्खेत ।
कोरोना रोग विरुद्धको खोप कर्णालीका डोल्पा बाहेकका नौ जिल्लामा एक साथ शुरु गरिएको छ । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्कालाई कोरोना रोग विरुद्धको पहिलो खोप दिएर खोप कार्यक्रमको शुभारम्भ गरिएको हो । प्रदेशभर पहिलो चरणमा ११ हजार ५ सय ८० जनामा खोप लगाईने निर्देशक डा. खड्काले बताए । उनले स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्सका चालक, सह–चालक र महिला स्वास्थ्य स्वंयसेविकालाई पहिलो चरणमा खोप लगाउन शुरु भएको जानकारी दिए । ‘प्राविधिक कारणले विहान ढिलाई भएपनि डोल्पा जिल्लामा समेत आजै केही समय पश्चात खोप कार्यक्रम शुरु हुनेछ,’ उनले भने, ‘डोज खेर जाने सम्भावना भएकाले प्रति व्यक्ति दुई डोजका दरले कर्णालीका लागि २६ हजार डोज आएको छ ।’ सुर्खेतमा २ हजार ७ सय ८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७ सय २, जाजरकोटमा १ हजार १ सय ४५, सल्यानमा १ हजार १ सय २३, कालिकोटमा १ हजार २०, मुगुमा ५ सय ४७, डोल्पामा ५ सय ११, रुकुमपश्चिम ५ सय र हुम्लामा ४ सय ५० जनालाई पहिलो चरणमा खोप लगाउन शुरु भएको छ ।

Translate »