कोरोना खोप लगाउनेलाई परिचयपत्र

माघ १३,काठमाडौँ ।
कोरोनाविरुद्धको खोप लगाउनेलाई सरकारले परिचयपत्र दिने भएको छ । त्यस्तो परिचयपत्र खोप लगाएको प्रमाणका रूपमा रहनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बुधबारदेखि लगाइँदै छ । खोप लगाउने व्यक्तिको विवरण अनलाइनबाट संकलन गरिएको र त्यही विवरणका आधारमा परिचयपत्र तयार गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए । इन्टरनेट र विद्युत्को सहज व्यवस्था भएका ठाउँमा परिचयपत्र प्रिन्ट गरेर दिने र नभएका ठाउँमा हातैले लेखेर दिने उनले जनाए । पहिलो डोज खोप लगाउँदा परिचयपत्र दिन नसकेका ठाउँमा रेकर्डका आधारमा दोस्रो डोज खोप लगाउन आउँदा दिइने उनले बताए । सरकारले पहिलो चरणमा फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक, सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेविका र वृद्घाश्रमको हेरचाहमा खटिने व्यक्तिलाई खोप लगाउन लागिएको हो ।

परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, लिंग, पालिका, वडा नम्बर, सम्पर्क नम्बर, पहिलो र दोस्रोपटक खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नम्बर तथा खोप लगाइदिने स्वास्थ्यकर्मीको नाम उल्लेख हुन्छ । कोरोनाविरुद्धको खोप दुई डोज लगाउनुपर्ने हुन्छ । एउटा डोज लगाएको निश्चित दिनपछि दोस्रो डोज लगाउनुपर्ने हुन्छ । त्यसैले विभागले तयार गरेको परिचयपत्रमा लेखिएको छ, ‘दोस्रोपटक खोप लगाउन आउँदा यो कार्ड अनिवार्य रूपमा ल्याउनुपर्छ । यो कार्ड सुरक्षित राख्नुहोला ।’परिचयपत्रको पछिल्लो भागमा खोपको बारेमा, खोप लगाउँदा हुन सक्ने असरका बारेमा लेखिएको छ । खोप लगाएपछि स्वास्थ्य समस्या भएमा स्वास्थ्य संस्थामा सम्पर्कमा आउन आग्रह गरिएको छ । त्यस्तै कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने तरिका पनि त्यसमा उल्लेख छ । तपाईंले कोभिड १९ विरुद्धको खोप लिनुभयो, खोप लगाएर यो रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन कम्तीमा एक महिनाको फरकमा यो खोप दुई मात्रा लगाउनुपर्छ,’ परिचयपत्रमा लेखिएको छ, ‘यो खोप सुरक्षित मानिएको छ । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने र थकाइ महसुस भएमा यी चिह्नरलक्षणहरू ७२ घण्टापछि आफैं ठीक भएर जान्छन् । खोपपश्चात् कुनै पनि प्रकारका स्वास्थ्य समस्या भएमा तत्कालै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला ।’

Translate »