कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

माघ १०, लन्डन ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री जोनसनले भन्नुभएको छ कि यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ ।  शुक्रवार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राख्नुभएको हो । उनले यो भाइरस पहिलो पटक गत महीना मात्र इंगल्याण्डको केन्टमा देखिएको बताएका थिए। पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको थियो । बेलायतका स्वास्थ्य अधिकारीहरुले गएको बुधवार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङक्रमणबाट भएको जानकारी दिएका थिए ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।  उता यहींबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् । उनका अनुसार कोरोना भाइरसको पहिलेको संक्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको संक्रमणमा भने १ हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ ।  पछिल्लो समयमा यो संक्रमण यूरोपकै कैयौं सहरमा पुगिसकेको पाइएको छ । तर ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको भने बताइएको छ । यूरोपेली यूनियनले आगामी अगष्ट महीनाको अन्तिम सम्ममा विभिन्न यूरोपेली देशका करीब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको छ ।  प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेको बताएका छन् । उनका अनुसार यो नयाँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई संक्रमित बनाएको छ । रासस/ सिन्ह्वा

Translate »