असुरक्षित बन्दै काँक्रेविहारका जनावर

माघ ६,सुर्खेत ।
सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला प¥यो । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो बाँचेन । उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो । पछिल्लो यो घटना मात्र होइन, काँक्रेविहार क्षेत्रका जरायोहरु मृत वा घाइते अवस्थामा भेटिनु सामान्यजस्तै बनेको छ । यस वर्ष वैशाखयता एक मृत र चार जरायो घाइते अवस्थामा फेला परिसकेका छन् । वीरेन्द्रनगर–९ लाटीकोइलीका स्थानीय केशव कोइरालाले दुर्लभ जनावर जरायो दैनिक आक्रमणमा परिरहँदा सम्बन्धित निकायले संरक्षणमा बेवास्ता गरेको आरोप लगाए। एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ । यहाँ जरायो, मृग, बँदेललगायतका दुर्लभ वन्यजन्तुको बसोवास छ । चारैतिर बस्तीले घेरिएको काँक्रेविहार वन क्षेत्रमा अचेल काठ तस्करदेखि वन्यजन्तुको शिकारी गर्नेहरुको नजर पर्ने गरेको स्थानीय बताउँछन् ।

स्थानीयवासीका अनुसार सङ्गठित भएर चोरी शिकारी गर्नेले कुकुरसम्म प्रयोग गरेर जरायोलाई मार्ने गरेको पाइएको छ । जरायो वन क्षेत्र बाहिर निस्किँदा शिकार गर्ने समूहको नियन्त्रणमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले वन क्षेत्रभित्र चरिचरनको कमी, खानेपानी नपाउनुजस्ता कारणले जरायो आफैँ बस्तीमा निस्कने गरेको बताए । लाटीकोइलीका युवाहरुले गत साउनमा व्यक्तिगत लगानीमा वन्यजन्तुको चरिचरनका लागि घाँस रोपेका थिए । स्थानीयवासी लालबहादुर चौधरीले चरिचरन क्षेत्र बढाउनुपर्ने, पोखरीको व्यवस्था गनुपर्ने, आसपासमा वनरक्षकले गस्ती बढाउनुपर्ने बताए । साथै वन कार्यालयले पनि काँक्रेविहार संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाका लागि प्रहरीको अस्थायी बिट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भए पनि वन्यजन्तु सुरक्षित हुनसकेका छैनन् । डिभिजन वन कार्यालयले भने नियमित गस्ती गर्नुका साथै घाइते जनावरका उद्धार तथा उपचारमा कुनै कमी हुन नदिएको दाबी गरेको छ । कार्यालयले पानीपोखरी निर्माण, तारबारलगायतका योजना अघि बढाउने कार्यक्रम रहेको जनाएको छ ।