सिँचाई आयोजना अलपत्र

स्काई न्यूज / माघ ४,जाजरकोट ।
जाजरकोटको नलगाड नगरपालिका ७, दल्ली स्थित चामाखेतमा ६४ लाख खर्च गरी निर्माण गरिएको सिँचाई आयोजना प्रयोगमा नआउन नसक्दा अलपत्र परेको छ । तत्कालीन जिल्ला विकास समितिको साना सिँचाई कार्यक्रमको ६४ लाख लगतमा चार वर्षअघि निर्माण भएको सिँचाइ आयोजना अलपत्र परेको हो । दल्लीदेखि चामाखेत बगर टोललगायत क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउने गरी बनेको उक्त सिचाई आयोजना प्रयोगमा नै नआएर अलपत्र परेको छ । स्थानीयले खेतीयोग्य जग्गा आकाशे पानीको भरमा लगाउने गरेका छन् । दल्ली, बगर टोल र चाँमाखेतको पाँच सय हेक्टर बढी स्थानीयको जग्गा बाँझै रहेको चाँमाखेतकी शारदा शाहले जानकारी दिए । सिँचाइको आसामा रहेका स्थानीय आयोजना अलपत्र परेपछि अहिले निराश भएको उनले बताए । सिचाईमा प्रयोग भएको पाइपहरू अहिले चोरी भएर हराइसकेका छन् । खरे खोलाको बाढीका कारण अधिकांश भाग पुरिएको छ ।

आयोजना मर्मतका लागि बजेट माग गरिए पनि बेवास्ता भएपछि खेतीपाती लगाउने सपना अधुरो भएको उनले गुनासो पोख्ए । सिँचाइ सुविधा भए वर्षमा तीन बाली लगाउन सकिने भए पनि उक्त सुविधा भने उपयोग गर्न नै पाइएन ! चाँमाखेतकै लक्ष्मी चन्दले भने। आयोजना मर्मत नहुँदा एक सय ३५ घरधुरीले सिँचाइ समस्या भोग्न बाध्य भएको चन्दको भनाइ छ । आफ्नो जग्गामा धान र तरकारी लगाउन पाइने भन्दै स्थानीयले श्रमदान गरेका थिए । ‘न हाम्रो श्रमदानको मूल्य उठ्यो, न सरकारी लगानीकै सदुपयोग, चन्दले गुनासो गरे । सबैभन्दा ठुलो विकास सिँचाइ थियो, अलपत्र परेपछि आकासे पानीको भरमा बाली लगाउन बाध्य छौँ स्थानीय डिल्लीबहादुर गिरीले भने । सिँचाई असुविधाका कारण बर्षेनी उत्पादन घटिरहेको उनले बताए ।वडा अध्यक्ष अर्जुनबहादुर सिंहले योजना पुनर्निर्माण गर्न धेरै रकम लाग्ने भएकाले समस्या भएको बताए । योजना मर्मत गर्न वडाको बजेटले नपुग्ने र अनेत्रबाट कुनै पहल हुन नसकेको वडा अध्यक्ष सिंहको भनाइ छ । डेढ किलोमिटर लम्बाइको सिँचाइको अधिकांश पाइप हराइसकेको छ । स्थानीयले वर्षौँदेखि सिँचाइ समस्या भोगिरहेका छन् । सिँचाइ असुविधाकै कारण स्थानीयले धान, मकै र गहुँ खेती मात्र गरिरहेका छन् । जिल्लाभरि सयौँ सिँचाइ आयोजना बजेट अभावकै कारण अलपत्र छन् भने निर्माण भएका आयोजना प्रयोगमा आउन सकिरहेका छैनन् ।

Translate »