जिल्ला प्रशासनको गैरआवासिय भवन शिलान्यास्

निर्वाचन तयारीमा जुट्न गृहसचिवको निर्देशन

स्काई न्यूज /माघ ३, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासिय भवन निर्माण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय हाता भित्र शनिबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गैरआवासिय भवन निर्माणको शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्दे गृहसचिव न्यौपानेले तोकिएकै समयमा भवन निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले भवन निर्माण तोकिएकै समयमा पुरा गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । जिल्ला प्रशासनको चार तले नयाँ भवन ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौंतामा उल्लेख छ । ७ करोड ६१ लाख ५८ हजार रुपैयाँमा निर्माण हुन लागेको उक्त भवन बनाउने ठेक्का सुनकोशी÷ प्रजिल÷ अभियान जेभी काठमाडौंले पाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसम्शेर रानाले जानकारी दिए । उनले भवन निर्माणका लागि प्राविधिक सहयोग संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतको रहेको बताए । उनका अनुसार गृहसचिव न्यौपानेले शनिबार नै जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र भवनको समेत उद्घाटन गरेका छन् । करिब २१ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको डीईडी भवनको उद्घाटनसँगै अब विपद् व्यवस्थापन एव अन्य भैपरी आउने घटनाको निगरानी तथा समन्वय गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । उक्त भवन जिल्लाका नौ वटै स्थानीय तहको सहयोग निर्माण सम्पन्न भएको सूचना अधिकारी रानाले जानकारी दिए ।

यसैवीच शनिबार नै जिल्ला प्रशासन कार्यालयमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा गृहसचिव न्यौपानेले निर्वाचन सुरक्षा तयारीका लागि आवश्यक गृह कार्य शुरु गर्न प्रमुख अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले शान्ति सुरक्षालाई विशेष महत्वका साथ अवान्छित गतिविधि माथि निगरानी राख्नु पर्नेमा जोड दिए । ‘आगामी निर्वाचनका लागि शान्ति, सुरक्षा कायम गर्ने खालका योजनाहरुमा केन्द्रित रहेर कार्य सम्पादन गर्नु होस्,’ उनले भने, ‘नागरिकको जिउ, धनको रक्षार्थ गर्दै चुनाव केन्द्रित शान्ति, सुरक्षा अमलमा ल्याउनु होस् ।’ उनले नेत्र विक्रम चन्द नेतृत्वको (विप्लव) माओवादीका गतिविधिहरु पूर्णरुपमा रोक्नेगरी काम गर्नु आवश्यक रहेको औल्याए । बैठकमा सुर्खेतसँग सीमा जोडिएका तीन प्रदेशका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा व्यवस्थामा कडाई गरेकै कारण विप्लव गतिविधि शुन्य रहेको गृहसचिवलाई रिपोर्टिङ गरेका थिए । बैठकमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै कर्णाली प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरीका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

Translate »