आन्तरिक राजस्व कार्यालयको कर मोबाईल बैंकिङबाट तिर्न सकिने

माघ ३, काठमाडौं ।
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सक्ने भएका हुन् । मोबाईल बैंकिङ मार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे पेमेन्ट सर्भिस लिमिटेडका बिचमा सम्झौता समेत भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशुतोष शर्मा र फोन पे का तर्फंबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका हुन् । करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्नेछन् । मोबाईल बैंकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । फोनपे पेमेन्ट सर्विस नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ ओटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजारभन्दा बढि मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाखभन्दा बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

Translate »