हाडसिंजा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन

सागर परियार / माघ ३,जुम्ला ।
जिल्लाकै दुर्गम हाडसिंजा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको छ । स्थानीय नागरिकहरुको राहतका लागि स्थानीय तहको सहयोगमा गाउँमै ल्याब सेवा सञ्चालन गरिएको हो । सामान्य परीक्षणका लागि सदरमुकाम गएर ५/१० हजार खर्च गरेर गरिने परीक्षण गाउँमै बढीमा २ सयमा हुने गरी ल्याब सेवा सञ्चालन भएको छ । सबै खाले स्वास्थ्य सेवामा नागरिकको सम्मान पहुँच वृद्धिका लागि सस्तो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा कनकासुन्दरी गाउँपालिकाका जुटेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत मात्र जाँच गरेको करिब २/३ हजार लाग्छ, आउन जान खान बस्न गरी १० हजार बढी खर्च लाग्छ भने, गाउँकै स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि २/३ सय रुपैयाँमै दिसा, पिसाब, रगत, गर्भावस्था, टिभी एचआइभीलगायतका समस्याहरूको परीक्षण गर्न सकिने गरी ल्याब सेवा सञ्चालन गरिएको हाडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र उपाध्यायले बताए । उनले भने,“गाउँमा भरपर्दो गर्भ जाँच्ने भिडियो एक्स–रे नहुँदा महिला पीडित छन् । साथै, ब्लड गुरुप, दिसा पिसाब परीक्षण गर्नकै निम्ति हजारौँ खर्च गर्नुपर्ने समस्या छ । यस्ता समस्यालाई मध्यनजर गर्दै गाउँमै जनशक्ति र उपकरणसहित ल्याब सेवा सञ्चालन गरिएको छ ।” गाउँकै स्वास्थ्य चौकीमा सुरु गरिएको ल्याब सेवाले यहाँका नागरिकलाई ठुलो राहत पुग्ने इन्चार्ज उपाध्यायको विश्वास छ ।

हाडसिंजा स्वास्थ्य चौकीको ल्याब सेवाबाट करिब २१ प्रकारका परीक्षण सुलभमा रुपमा गरिने ल्याब टेक्नसियन पदमराज उपाध्यायले बताए । उनका अनुसार २१ प्रकार विभिन्न परीक्षणमा थोरैमा ५० देखि धेरैमा २ सय ५० सम्म पनि शुल्क लाग्ने छ । विपन्न नागरिक आएको खण्डमा निःशुल्क समेत गर्न सकिने उपाध्यायको भनाई छ । उनले भने, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा धेरै सस्तोमा गर्भ परीक्षण, ब्लड गुरुपिङ, दिसा पिसाब परीक्षण, टिभी रोगको परीक्षण, हेमोगोलोविन र एचआइभी परीक्षणलगायत २१ प्रकारका परीक्षण गर्छौ ।”कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अन्य ठुला अस्पतालमा गर्भवस्थाको भिडियो एक्स–रे गरे बापत ५ सय लाग्छ, भने हाडसिंजा स्वास्थ्य चौकीमा १ सय ५० मात्रै लाग्छ । त्यस्तै दिसा पिसाब परीक्षण गर्दा पनि २ हजार २५ सय लाग्छ । भने स्वास्थ्य चौकीमा बढीमा २ सय ५० लाग्छ । हाडसिंजा स्वास्थ्य चौकीको ल्याबमा परीक्षण हुने २१ प्रकारका सेवामा ठुला अस्पतालको भन्दा निकै सस्तोमा भइरहेको छ । यसअघि यहाँको तिलाको कुडारी स्वास्थ्यचौकी र पातारासीको छुमचौर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएका थिए ।

 

Translate »