अदालतका खरिदार आफ्नै कोठामा मृत फेला

माघ १, खोटाङ । जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन् । मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए । बेलुकी खाना खाएर सञ्चै सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताए । ‘मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ”, दुलालले भने, ‘आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ ।’ आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । ‘घटनाको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन्’, उनले भने, ‘मृतकको शव परीक्षणमा लगिएकाले अरु मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ ।’ रासस

Translate »