प्रधानमन्त्रीलाई एक अवसर
-उमालाल आचार्य
यी दिनहरुमा दल फुटेर ढलमल भएका खबरहरुले बजार तताइ रहेका छन । जुट्नै नसक्ने विपरीत धारका दल नितान्त व्यक्ति स्वार्थ सिद्धका लागि जबर्जस्त एकीकृत भएपछि अन्तमा फुट्नु थियो, फुटेर गयो । दल फुटेपछी मुखिया र सरदारहरु एकापसमा हिलो छ्यापाछ्याप गरेर दुनियाँ हँसाइ रहेका छन् । देशका प्रधानमन्त्री आफ्नो मर्यादाबाट तल झरेर गाली गलौजमा उत्रनु भएको छ । ठाउँ ठाउँमा भिड खेडेर रमिता बाँड्दै चिच्याएर भनी रहनु भएको छ, कोही व्यक्ति स्प्रीङबाट ब्रुक्क उफ्रेर प्रधानमन्त्री भएका हुन । त्यतिबेला तपाईं समेतको मिलेमतो र सहमतिमा होइन लिलानाथ श्रेष्ठको जीतलाई बलि चढाएको ? सख्त विरोध जनाएको भए जनमतबाट पराजित व्यक्ति कोही त्यसरी सभासद हुन सक्थ्यो ? तिगडम गरेर प्रधानमन्त्री हुने हैसियत रहन्थ्यो ? कृश्चियनहरुको मात्र हित गर्ने यति खराव संविधान बन्थ्यो ? त्यसैले जनतालाई छलेर पानीमाथिको ओभानो नबन्नुस प्रधानमन्त्रीज्यु, यस बिषयमा तपाईं पनि कम दोषि हुनुहुन्न । मतपत्र च्यातेर छोरीलाई जिताइयो भन्दै अहिले बान्ता गर्नुको पनि कुनै तुक देखिदैन । मतपत्र च्यातिएको बिषय निर्वाचन आयोगमा गयो, अदालतमा मुद्दा पर्यो तर तपाईंहरु कतै एक शब्द चुँक्क बोल्नुभएन । तब किन ? किनकि भित्रभित्रै केही पाकी रहेकोे थियोे, तपाईंहरुको आपसमा स्वार्थ मिलिरहेको थियो । स्वार्थ मिल्दा सम्म चाटाचट स्वार्थ नमिले काटाकाट ।
दल फुटेर पानी बाराबार भएपछि भुरे टाकुरे मझौला र साना रजौटाहरु आफ्नो पद र स्वार्थका लागि ओल्लो र पल्लो कित्तामा फंगाल्नेनै भए । देशमा जनताभन्दा दलहरुका अन्धभक्त कार्यकर्ता धेरै छन, आफ्नो गुटको लागि ज्यान छोडेर जिन्दावाद र मूर्दावादको नारा लगाउन उर्लने नै भए । विद्वान बर्गले समेत तटस्थ भै विचार प्रवाह गर्नुको सट्टा सिङ पुच्छर थपेर संविधानको मर्म भाँचियो, लौ संविधानले दु:ख पायो, देश गैगत्तमा गयो भनेर यताका वा उताका नेताहरुकै स्वार्थ अनुकूलको बहस गर्दा आश्चर्य लाग्छ । हामीलाई थाहै छ, कुनै दिन बहालवाला प्रधान न्यायाधीशलाई यो देशमा प्रधानमन्त्री बनाइयो । संविधानमा थियोे कतै त्यो व्यवस्था ? सर्ब दलिय सहमतिबाट जे गरे पनि हुनेभए किन चाहियो त संविधान ? निर्वाचन प्रणालीमा तेत्तीस प्रतिशत महिला अनिवार्य भनेर वर्तमान संविधानले प्रत्याभूत गरेको छ । के पुगेको छ त तोकिएको ठाँउमा महिलाको तेत्तीस प्रतिशत संख्या ? नपुगेमा के हुन्छ संविधानको मर्म ? यसको जवाफ दिन कसैले नपर्ने सबैलाई आफ्नै डम्फू बजाउनु पर्ने ।
हप्ता दसदिन अगाडि सामाजिक संजालमा भाइरल भै आएको पूर्व प्रशासक आनन्द राम पौडेलको लेख पनि यहाँ चर्चा गर्न मनासिब देखियो । पौडेल लेख्नुहुन्छ – संविधान निर्माण भैरहँदा जनताको राय सुझाव लिन भनी संविधान सभाले १३ वटा टोलि बनाइ देश भरी पठाई संकलन गरेको सुझाव र संविधान सभा सचिवालयको इमेलमा प्राप्त ३४ हजार सुझाव सबैजसोमा प्रदेश संरचना आवश्यक नरहेको, राष्ट्रियसभामा बाहेक अरुमा समानुपातिक राख्न नहुने, न्यायपरिषदमा राजनीतिक अनुहारलाई निषेध गर्नुपर्ने, गरिबीको रेखामुनि रहेका बिपन्न बर्गलाई मात्र आरक्षण दिनुपर्ने र हिन्दुराष्ट्र नै कायम रहनु पर्ने भन्ने व्यहोरा उल्लेख भएकोमा ती सबै राय सुझावलाई लुकाइ दबाइ बिदेशीहरुको एजेण्डा लादेर यो संविधान निर्माण गरियो ।
पौडेलले उल्लेख गर्नुभएको व्यहोरा सत्य साँचो हो कि होइन ? यदि साँचो हो भने नेपाली जनतालाई किन र के कारणले थाङ्नामा सुताइयो ? जनताको सहज अनुमान छ, संविधान घोषणा गरेर कसैलाई संविधानका पिता बन्नु थियोे । कोही कसैलाई प्रधानमन्त्री पड्काउनु हतार थियोे । कसैलाई आफ्ना मुद्दा र एजेन्डा स्थापित गराइ बिदेशीलाई समेत रिझाउनु थियोे । नितान्त आफ्नो स्वार्थले जनताको भावना कुल्चंदै द्वन्द्व, द्वन्द्व व्यवस्थापन र संविधान लागू गर्ने नाममा देशलाई पटकपटक प्रयोगशाला बनाइएको छ ।
प्रधानमन्त्रीज्यू, बाह्र चौधजना टाठाबाठा बाहुन क्षेत्रीहरु बन्द कोठामा बसेर हतारमा बनाएको यो संविधान जनताको हुँदै होइन, जनताले अपनत्व लिन सकिरहेका छैनन् । यसलाई धुजाधुजा पारिदिनुस । बरु केही धारा उपधारा थपेर सुधारेर सपारेर सत्चालीस सालको संविधान ल्याजनतामा लैजानुस । कसैको स्वार्थमा गाँसिएको अग्रगमन र पश्चगमनको बासी कुरा छोडेर, नेपाली जनताको बृहत्तर हित र भावनाको कदर गर्नुस । इतिहासमा तपाईंको नाम अजर अमर रहनेछ ।
आजसम्म तपाईंका उखान टुक्का र चुट्किला सुनेर खुब हाँसियो । घर घरमा पाइप जडित ग्यासचुलोमा खाना पकाइयो, देशमा रेल र पानीजहाज देखेपछि तपाईंको विकासलाई पनि मनभरी पत्याइयो । सायद इतिहासमै तपाईं आस्वासन र सपना वितरण गर्ने हास्य जोकर प्रधानमन्त्री हो भन्दा अन्यथा हुँदैन । रोएर जनताले न्यायको भिख मागी रहेका छन, राज्य चलाउने र खोस्नेहरुलाई जनताको रोदन सुन्ने फुर्सद छैन । अब विपक्षी विरोधी र धुर्तलाई खुइल्याउन छोडी अपराध अनुसारको सजाय दिने प्रबन्ध मिलाउनुस । कर्मचारीलाई अश्लील गाली गर्दै सत्तरी करोड घुस माग्न पटक्कै नहिच्किचाउने घुस्याहा प्रवृत्तिलाई मन्त्री पदबाट घोक्रेठ्याक लाएर मात्रै पुग्दैन, दण्ड सजायको दायरामा ल्याउनुस । कुनै पनि अपराधीलाई काखा र पाखा नगर्नुस । जनताको साथ चाहिने भए अब बाँकी समय विकासको होईन सुशासनको काम गर्नुस, कोही कसैले तोडमोड गर्नै नसक्ने विधि पद्धति बसालिदिनुस । समयले दिएको यो एक अवसर पनि हो यसलाई नगुमाउनुस, इतिहासमा तपाईंको नाम साँच्चै सुनका अक्षरले लेखिनेछन् । नेपाली साराले तपाईंको जय जयकार गर्नेछन् । पहिला प्रथम यो संघीयता खारेज गरेर प्रदेश सरकारलाई मेटिदिनुस । पिर्के सलामीमा रमाउने छोटे राजनहरुको ध्वाँस र चुरिफुरीले वाक्क दिक्क पारिरहेको छ । आर्थिक रूपमा देशलाई जर्जर पार्ने यी काम न काजका सेताहात्ती पाल्न जनतालाई साह्रै साह्रै उकालो परिरहेको छ । (लेखक प्रसिद्ध रंगकर्मी हुन् । )