कर्णालीबाट ५ महिनामा झण्डै ७१ करोड राजश्व असुली


स्काई न्यूज /पुस २०, सुर्खेत ।
पछिल्लो समय कर्णालीबाट उत्साहजनक राजश्व संकलन हुन थालेको छ । आन्तरिक राजश्व कार्यालय सुर्खेतले पछिल्लो पाँच महिनामा झण्डै ७१ करोड राजश्व असुली गरेको जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷०७८ को पाँच महिनामा ७० करोड ७४ लाख रुपैयाँ राजश्व असुली भएको छ । कोरोना महामारीका वावजुद आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा २० करोड ७६ लाख ९८ हजार बढी राजश्व असुली भएको कार्यालय प्रमुख डाक्टर रामप्रसाद मैनालीले जानकारी दिए । उनले कार्यालयलाई पछिल्लो ५ महिना अर्थात् साउनदेखि मङ्सिरसम्म विभागबाट ४९ करोड ३० लाख ४२ हजार लक्ष्य पाएकोमा १४२ दशमलव १३ प्रतिशत अर्थात् ७० करोड ७४ लाख रुपैयाँ असुली गरेको जनाए । उनका अनुसार आन्तरिक राजश्व कार्यालयले आयकरतर्फ ३८ करोड ९८ लाख ३२ हजार, बहाल कर २ करोड ५५ लाख ६ हजार, व्याज कर १ करोड ९८ लाख ३६ हजार, मूल्य अभिबृद्धि कर (भ्याट) तर्फ २४ करोड ८१ लाख ६१ हजार, अन्तःशुल्कतर्फ १ करोड ७४ ५ हजार रुपैयाँ राजश्व असुली गरेको छ । कार्यालयले गत वर्ष मंसिरसम्मकोे सोही अवधिमा ६२ करोड १५ लाख ७ हजार रुपैयाँ असुली गरेको थियो । उक्त आवको मंसिरसम्म विभागले कार्यालयलाई ५८ करोड ६८ लाख १९ हजारको लक्ष्य दिएको कार्यालय प्रमुख मैनालीले जनाए । उनले गत आव २०७६÷०७७ मा कर्णाली प्रदेशबाट विभिन्न शिर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजश्व असुली भएको बताए । उनका अनुसार गत आवमा राजश्व संकलनमा ७९ दशमलव ८० प्रतिशत प्रगति भएको थियो ।

Translate »