कालिकोटबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ


स्काई न्यूज/ पुस २०, सुर्खेत ।
कर्णाली प्रदेश प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जना कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले कालिकोटको नरहरिनाथ गाउँपालिका–९, मा आइतबार साँझ विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् । उनीहरुको साथबाट प्रहरीले अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ समेत नियन्त्रणमा लिएको जनाएको छ । उक्त विष्फोटक पदार्थ दुर्गबहादुर बोहोराको घरमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक महेशबिक्रम शाही र र सशस्त्र प्रहरी नायव निरीक्षक देवेन्द्र सेट्टी नेतृत्वको संयुक्त टोलीले विशेष सुराकी सहयोगमा पक्राउ गरेको जनाए ।

Translate »