कर्णालीका २ मन्त्री प्रचण्ड–नेपाल समूहमा


स्काई न्यूज /पुस १९, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओली समूहबाट सरकारमा सहभागी ती दुई मन्त्रीलाई बरखास्त गर्ने अन्तिम तयारी गरेपछि उनीहरुले लाइन परिवर्तन गरेर प्रचण्ड–नेपाल समूहमा आएका हुन् । सामाजिक विकास मन्त्री रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष समेत रहेका रोकाय प्रचण्ड–नेपाल समूहमा आएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । उनले प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदम रोकाया भने एक हप्ताअघि नै प्रचण्ड–नेपाल समूहमा प्रवेश गरिसकेको जनाए । सामाजिक विकास मन्त्री रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बुढा ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् । तीनजना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् । यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । प्रचण्ड–नेपाल समूहका दुईजना सांसद धर्मराज रेग्मी र डम्मर विष्ट ओली समूहमा लागेपछि उनी दबाबमा थिए । मुख्यमन्त्री शाहीले ओली समूहका दुई मन्त्री बरखास्त गर्ने अन्तिम तयारी हल्ला बाहिर आएसँगै उनीहरु सुरक्षित हुन खेमा बद्ल्लेको सम्बद्धहरु बताउँछन् । उनीहरु ओली समूहबाट प्रचण्ड–नेपाल समूहमा आएसँगै मन्त्री पद सुरक्षित रहने बताइएको छ ।

Translate »