मुख्यमन्त्री राईद्वारा १५ सांसद निलम्बित

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटायो

पुस १६,काठमाडौं ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्। प्रधानमन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्। मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो। निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार जना सांसद तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोका कारबाही नगरेको बताइएको छ। यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका छन् भने आइतबार राईविरुद्ध ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता भएको थियो। राईले भने अविश्वासको प्रस्ताव दर्ता गरेकोमा स्पष्टीकरण सोधेका थिए। बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने र भीम आचार्यलाई दलको नेता चयन गरेको छ।

Translate »