सुन्तलाबाट जुस बनाउँदै जाजरकोटका कृषक

पुस १६, जाजरकोट ।
सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकोमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्‍याउन थालेका छन् । सबै ग्राहकका आँखा लाग्ने सुन्तला विक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट ९साना सुन्तला० जुस बनाउने कामसमेत शुरु गरिएको छ । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए । उनले भने, ‘वास्तवमा साना सुन्तला जुन विक्री हुँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन् त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।’ जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ । जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ ।

तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयको भनाइ छ । २२ जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम लिएका छन् । अघिल्लो वर्ष जुस बनाउने एउटा जुसर मेसिन रातोपाण्डा कृषि सहकारीलाई दिइएको थियो । अब सुन्तला जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको प्रमुख बस्नेतले जानकारी दिए । अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला विक्री, वितरण कम भएको कुशे गाउँपलिका–५ दमदालाका अगुवा कृषक शक्ति ओलीले जानकारी दिए । सुन्तला विक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्‍याउने अभियानमा लागेको कृषक ओलीले बताए । उनले भने, ‘सुन्तला विक्री गरी घरको सबै आवश्यकता पूरा गर्दै आएको अवस्था छ ।’ त्यस्तै अर्का अगुवा कृषक नलगाड नगरपालिका–३ का कमल पुनले भने, ‘गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँभरि सुन्तलामय भएको छ ।’ कृषक अब व्यापारी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले कृषकलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।

Translate »