प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध हटायो

पुस १४, काठमाडौं । भारतले गत भदौ २९ गतेदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । त्यसबेला भारतको आन्तरिक बजारमा नै प्याजको अभाव हुन गएकाले आफ्नो देशमा प्याजको मूल्य वृद्धि हुन नदिन भारतले आजभन्दा करीब साढे तीन महीना अघि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

सोमवार भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विज्ञप्ती जारी गर्दै आउँदो शुक्रवारदेखि निर्यात खुलाउने जानकारी दिएको छ । भन्सार विभागका महानिर्देशक सुमन दहालले यतिबेला भारतमा प्याजको उत्पादन बढेकाले उसले निर्यात खुलाएको हुन सक्ने जानकारी दिए । भारतले लगाएको प्रतिबन्ध हटेसँगै नेपालमा प्याजको मूल्य सस्तीने पनि उनले बताए ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलीपल्टदेखि नै नेपाली बजारमा प्याजको मूल्य बढेर दोब्बर पुगेको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार गत भदौ २९ गते थोक मूल्य प्रतिकिलो रू. ६० रहेको प्याजको मूल्य भारतले प्रतिबन्ध लगाएको २ दिनमै ९९ प्रतिशतले बढेर प्रतिकिलो रू. ११९ पुगेको थियो । यद्यपि खुद्रा बजारमा भने प्रतिकिलो रू. १६० सम्ममा पनि कारोबार भएको थियो ।

पछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले बजार अनुगमनका क्रममा व्यापारीहरुले प्याजको कृतिम अभाव सृजना गरेको भन्दै कारबाही गरेपछि प्याजको मूल्य ओरालो लागेको हो ।

त्यसयता ओरालो लागेको प्याजको थोक मूल्य अहिले फेरी ९९ प्रतिशतले नै घटेको पाइएको छ । कालीमाटीको थोक बजारमा आजभोली भारतीय प्याजको थोक मूल्य प्रतिकिलो रू. ६० रहेको छ भने चिनियाँ प्याजको मूल्य प्रतिकिलो रू. ६५ रहेको छ ।

Translate »