सल्यानका किसान कृषि यान्त्रीकरणमा आकर्षित
पुुस १५,सल्यान ।
सल्यानमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै जान थालेको छ । यान्त्रीकरणले लागत कम हुने र छिटो छरितोबाट काम हुने भएपछि किसानहरु लाभान्वित समेत भएका छन् । खेतबारी जोत्न हाते ट्याक्टर, धान गहुँ झाट्ने यान्त्रीकरणको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । सरकारी अनुदान नपाउने किसानहरुले पनि पछिल्लो समय आँफैले किनेर उपकरण प्रयोग गर्न थालेको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले बताए । श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान उपकरणको प्रयोगतर्फ आकर्षित भएको उनको भनाई छ । उनले भने, कृषि विकास कार्यालयले सहुलीयत अनुदानमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ ।
चालु आर्थिक वर्षमा यान्त्रीकीकरण खरिदका लागि ४८ लाख बजेट भएको भएता पनि अहिले दुई करोडभन्दा बढीको माग आइसकेको कार्यालय प्रमुख आर्चायले बताए । गत वर्ष कार्यालयले मात्रै विभिन्न शिर्षकमा दुई सयभन्दा बढी हाते ट्याक्टरलगायतका उपकरण किसानहरुलाई वितरण गरेको उनले बताए । जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको कालिमाटी गाउँपालिका–२ का किसान डम्बर केसीले बताए । गोरु पाल्नुभन्दा उपकरणको माध्यमबाट काम गर्दा लागत कम लाग्ने भएकाले यान्त्रीकरणको प्रयोग बढ्दै गएको उनको भनाई छ । उनका अनुसार स्थानीय पालिका, प्रदेश र संघीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । तर किसानहरुलाई नयाँ प्रविघिमा आकर्षित गर्न ९० प्रतिशतसम्म दिनुपर्छ । पुरातन खेती प्रणालीमा लागत मूल्य समेत नउठ्ने भएपछि युवा पुस्ता यान्त्रीकरण तर्फ आकर्षित भएका छन् ।