सल्यानमा घरेलु उद्योग दर्ता गर्नेको संख्या बढ्यो

पुस १३,सल्यान ।
सल्यानमा घरेलु तथा साना उद्योग व्यवसाय गर्नेको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानमा पछिल्लो समय व्यवसाय दर्ता गर्ने सेवाग्राही बढेको कार्यालयले जानकारी दिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासमा २२८ जनाले फर्म दर्ता गरेका छन् । जसमा कृषि तथा पशुपंक्षी र वनतर्फ मात्रै १८४ ओटा फर्म दर्ता भएका छन् । जसअनुसार निजी फर्म २२४ र साझेदारी फर्म ४ ओटा रहेका छन् । यी फर्ममा कुल पूँजी रू। ३८ करोड २४ लाख ६७ हजार रहेको कार्यालयका सूचना अधिकारी ध्रुब बहादुर खत्रीले जानकारी दिए ।

‘पछिल्लो समय जिल्लामा फर्म दर्ता गर्नेहरुको संख्या धेरै छ, पहिलो चौमासिक तथ्यांक हेर्दा अहिले नै झण्डै गत वर्षकै हाराहारीमा फर्म दर्ता भइसकेका छन्, जसमा कृषि तथा पशु र वन क्षेत्रसँग सम्बन्धित उद्योग धेरै दर्ता भएका छन्’ उनले भने । यस आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यालयले झण्डै रू.६ लाख राजस्व संकलन गरेको उनको भनाइ छ ।  ‘विगतको तुलनामा यस अवधिमा थोरै राजस्व संकलन भएको छ, यसको मुख्य कारण भनेकै दर्ता नविकरणमा राजस्व कम लिने नीति बन्नु र जिल्लामा महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्नु हो’ उनले भने । उनले महिलाको नाममा फर्म दर्ता गर्दा पुरुषको भन्दा आधा राजस्व लाग्ने भएकाले पनि महिलाका नाममा फर्म दर्ता गर्नेको संख्या धेरै भएको जानकारी दिए । सूचना अधिकारी खत्रीका अनुसार यस वर्षपनि जिल्लामा झण्डै ३०० नागरिकलाई सीपमूलक तालिम प्रदान गर्ने तयारी भइरहेको छ । जिल्लाका दश ओटै स्थानिय तहसँगको समन्वयमा स्थानियको मागको आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने गरी तयारी गरिरहेको उनको भनाइ छ ।

 

Translate »