सल्यानमा झन्डै पाँच करोडको लगानीमा व्यावसायिक बाख्रा पालन

पुस १०,सल्यान ।
सल्यान जिल्लाको शारदा नगरपालिका ५ रानीकोटमा झन्डै पाँच करोडको लगानीमा व्यावसायिक बाख्रा पालन थालिएको छ । रानीकोटका २० घरपरिवारले सामूहिक बाख्रा पालन सुरु गरेका हुन । पहिले एक्ला एक्लै बाख्रा पालन गर्दै आइरहेका स्थानीयले अहिले सामूहिक रूपमै बाख्रा पालन गर्न थालेका हुन । राष्ट्रिय कृषि विकास कम्पनी मार्फत चार करोड ५० लाख बराबरको लगानी गरेर सामूहिक बाख्रा पालन थालिएको छ । कम्पनीमा एक जनाले एक लाख बराबरको शेयर लगानी रहेको राष्ट्रिय कृषि विकास कम्पनीका अध्यक्ष किरण शाहीले बताए । कर्णाली प्रदेशमै बाख्रा स्रोत केन्द्रको रुपमा स्थापित गराउनका लागि सामूहिक बाख्रा पालन सुरु गरेको उनको भनाई छ । अहिले फर्ममा दुई सय ५० वटा बाख्रा रहेको उनले बताए ।

सामूहिक बाख्रा पालनमा लागेपछि जङ्गल चराउन लैजान दुःख हट्नुका साथै आम्दानी पनि भइरहेको स्थानीय चम्फा शाहीले बताइन । उनले भनिन पहिले घरमा चार वटा बाख्रा थिए । ती चार वटा बाख्रा लगेर जङ्गल जानु पर्थ्यो तर समूहमा आबद्ध भएपछि धेरै सहज हुनुका साथै आम्दानी पनि बढ्न थालेको छ । बाख्रा केन्द्रको रुपमा विकास गर्न खोर निर्माण र बाख्रा खरिद गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले लागत साझेदारी गरेको छ । बाख्रा स्रोत केन्द्र स्थापना गरी जिल्लामै बोयर जातका बाख्रा उत्पादन गरेर प्रत्येक पालिकामा पुर्‍याउने कार्यालयले लक्ष्य लिएको कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्यक्षले बताए । बाख्रालाई आवश्यक घाँसका लागि ४ सय रोपनीमा घाँस खेती पनि गरिएको छ । सहजै खसी बोका बिक्री हुने र लगानी अनुसारको राम्रो आम्दानी लिन सकिने स्थानीयको सामूहिक बाख्रा पालन जिल्लाको प्रमुख आम्दानीको स्रोत रहेको उपाध्यायले बताए । जिल्लामा झन्डै पाँच लख भन्दा बढी बाख्रा रहेको उनको भनाई छ ।

Translate »