नेपाल–चीन व्यापार २५ अर्बले घट्यो

नाका बन्दको प्रभाव आयात निर्यात दुवैमा

पुस ९,काठमाडौं ।
नेपाल–चीन व्यापारमा कमी आएको छ । विगत ६ वर्षसम्म बढ्दै गएको नेपाल चीन व्यापार आर्थिक वर्ष २०७७र७८ मा भने ओरालो लागेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महीनामा नेपाल–चीन व्यापार रू. २५ अर्बले घटेको छ । विभागका अनुसार यस अवधिमा द्विदेशीय व्यापार रू. ७७ अर्ब ८४ करोडको भएको छ । जबकि अघिल्लो वर्षको यही अवधिमा रू। १ खर्ब ३ अर्बको व्यापार भएको थियो । यस अवधिमा आयात रू. २४ अर्बले घटेर ७७ अर्ब ४४ करोडमा सीमित भएको छ भने निर्यात रू. ८६ करोडबाट घटेर ३८ करोडमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको प्रतिवेदनले चीनतर्फ हुने निर्यात ५९ दशमलव २ प्रतिशतले घटेको देखाएको छ । उसका अनुसार चीनबाट हुने आयात भने २५ प्रतिशतले घटेको छ ।

सरकारले निर्यात प्रवर्द्धन गरी आयात नियन्त्रण गर्ने रणनीति लिएको छ । तर, आयात घट्नुमा सरकारको रणनीति नभई चीनले उत्तरी नाकामा लगाएको बन्दको प्रभाव रहको देखिन्छ । उत्तरी नाकामा भएको अवरोधका कारण सामान आयात गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । ‘१ वर्षदेखि सीमामा सामान आएर रोकिएको छ, नाका बन्दप्रायः छन्, जसकारण अत्यावश्यक सामान पनि आयात गर्न सकिएको छैन,’ नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले भने । उनका अनुसार चीनले गतवर्ष माघदेखि उत्तरी नाका एकतर्फी रूपमा बन्द गरेको छ । ‘चिनियाँ कन्टेनरले नै मुश्किलले दैनिक ४र५ कन्टेनर सामान नाकासम्म ल्याइदिने गरेका छन्,’ उनले भने, ‘नाकापारि नेपाली कन्टेनर जान नपाएकाले नाकाबाट हुने निर्यात बन्दप्रायः छ ।’

चीनसँग कारोबार घटे पनि भारत लगायत इन्डोनेशिया, अमेरिका, क्यानडा, स्वीट्जरल्याण्ड लगायतका व्यापारिक साझेदारहरूसँग भने कारोबार सामान्य रहेको विभागको तथ्यांकले देखाउँछ । भारततर्फ हुने निर्यात भने गतवर्षको तुलनामा रू. ३ अर्बले घटेको छ । आयातमा आएको कमीका कारण नेपालको वैदेशिक व्यापार घाटा १० प्रतिशतले घटेको छ । विभागका अनुसार पहिलो ५ महीनामा गतवर्षको सोही अवधिको तुलनामा आयात रू. ५६ करोडले घटेर ५ खर्ब ८१ अर्बमा सीमित भएको छ । निर्यात भने रू. ४७ अर्बबाट ३ अर्बले बढेको छ । गतवर्षको यही अवधिमा २६ प्रतिशतले बढेकोमा यस वर्ष ५ प्रतिशतले मात्र बढेको विभागको तथ्यांकले देखाउँछ । गतवर्ष निर्यातमा रू. १० अर्बले वृद्धि भएकोमा यस वर्षको पहिलो ५ महीनामा ३ अर्बले मात्र वृद्धि भएको जानकारी विभागले दिएको छ ।

 

Translate »