चन्दननाथ र काठमाडौंँ भगिनी सम्बन्धलाई औपचारिकता

पुस ८,खलङ्गा।
जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य यहाँ आई चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालसँग औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी स्थापना गरेका हुन् । दुई नगरका जीवन्त संस्कृति, सम्पदा, पर्यटकीय र पर्यावरण क्षेत्रको संरक्षण, प्रबद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने कामपा प्रमुख शाक्यले बताए । उनले भने,“काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन् । मानवनिर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक शहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा सकारात्मक छ । प्रकृति र पर्यावरणको समुचित सन्तुलनविना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालनका लागि साझेदारी गर्न भगिनी सम्बन्ध स्थापना गरेका हौँ । ”

महानगरले यसअघि चीन एवं अन्य मुलुकका १६ शहर तथा स्वदेशका सिन्धुपाल्चोकको मेलम्ची र परासीको रामग्राम नगरपालिका(मङ्सिर १३)सँग भगिनी सम्बन्ध स्थापना गरी केही साझेदारीका काम अघि बढाएको छ । बङ्गलादेशको ढाका र पाकिस्तानको इस्लामावादसँग पनि केही महिनाभित्रै कामपाको भगिनी सम्बन्ध कायम हुने जनाइएको छ । कामपाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै शाक्यले सङ्घीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाइएको बताए । चन्दननाथसँग भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडिबुटी, स्याउ, सिमी, ओखरलगायत प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा सहकार्य हुने जनाइएको छ । चन्दनथानका प्रमुख सेजुवालले स्रोतसाधनले सम्पन्न कामपासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा नगरवासी खुशी रहेको बताए । भगिनी सम्वन्ध स्थापना गर्दै कामपाले चन्दननाथलाई रु डेढ करोड सहयोग गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । कामपा उपप्रमुख हरिप्रभा ख्डगी तथा विभागीय प्रमुखसहितको टोली यहाँ आइपुगेको थियो ।(रासस)

Translate »