उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी

पुस ८,जाजरकोट ।
निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी शुरू भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि ३ हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० क्विन्टल चामल पुगिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । उनका अनुसार झण्डै एक हजार क्विन्टल चामल बाटोमा जाँदै छ । सदरमुकाम दुनैसम्म यातायातका साधन हुँदै सोभन्दा माथि खच्चडमा ढुवानी गरिएको उनको भनाइ छ । यसअघि चीनको बाटो हुँदै खाद्यान्न ढुवानी हुँदै आएकोमा यो वर्ष नेपाली भूमिबाटै खाद्यान्न ढुवानी कार्य भएको हो । कोरोनाका कारण चीनले नाका बन्द गरेपछि सुर्खेतबाट चामल ढुवानी गरिएको छ । दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले चामल ढुवानीको जिम्मा लिएको छ । सप्लायर्सले सुर्खेतबाट डोल्पोबुद्धको धो, छार्काताङसोङको ढारगाउँ र शेफोक्सुण्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ ।

Translate »