डोल्पाको डाँफे चिडियाखाना लगिँदै

पुस ५,डोल्पा ।
डोल्पाबाट राष्ट्रिय पन्छी डाँफेलाई काठमाण्डौस्थित चिडियाखाना लगिने भएको छ । मध्येवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाण्डौं लैजान लागिएको निकुञ्जले जनाएको हो । एक साता अघि त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ रसी गाँउ बस्ने स्थानीय बिरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको अबस्थामा डाँफेको उद्दार गरेका हुन्। संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज विभागको निर्देशनमा डाँफेलाई चिडियाखाना लैजान लागिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए ।

डाँफेलाई निकुञ्ज कार्यालयमा सुरक्षित राखिएकाले केही दिन भित्रै काठमाण्डौं लैजाने तयारी भइरहेको पौडेलको भनाइ छ । एक महिना यता दुई घोरल र एक डाँफेसहित तीन वटा संरक्षित वन्यजन्तु स्थानीयलेनै उद्धार गरी निकुञ्ज कार्यालयमा बुझाएका छन् । पछिल्लो समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयलाई वन्यजन्तु संरक्षणमा जागरुप बनाउन निकुञ्ज सफल भएको सरोकारवालको भनाइ छ । संरक्षणका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई निकुञ्जले पुरस्कृतसमेत गर्दै आएको छ ।

 

Translate »