सरकारी गाडी दुरुपयोग गरी ‘घाँस ओसारिँदै’


स्काई न्यूज /पुस ४, सुर्खेत ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा सरकारी गाडीको दुरुपयोग हुँदै आएको पाईएको छ । सुर्खेत प्रहरीले शनिबार सार्वजनिक विदाको दिन विना पास घाँस बोकिरहेको सरकारी गाडीलाई नियन्त्रणमा लिएको छ । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको सरकारी गाडी घाँस बोक्न प्रयोग भएको पाइएपछि वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुनामा प्रहरीले नियन्त्रणमा लिएको हो । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडी पारिवारिक प्रयोजनमा घाँस ओसारिरहेको पाईएपछि कार्वाहीका लागि नियन्त्रणमा लिईएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले ट्राफिक नियम अनुसार विना पास सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको पाईएपछि न्यूनतम ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको बताए । उनले विना पास सार्वजनिक विदाको दिन सवारी चलाउनेलाई जिल्ला प्रशासन कार्यालयले समेत अतिरिक्त कारवाही गर्ने व्यवस्था रहेको जनाए । यता वीरेन्द्रनगरका सर्वसाधारणले भने प्राकृति स्रोत साधनको सभापति जस्ताको गाडी इजाजत विना नै सार्वजनिक सरकारी साधनको दुरुप्रयोग गरिनु गलत भएको बताएका छन् । ‘सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउनुपरेमा जिल्ला प्रशासन कार्यालयबाट पास अनिवार्य लिनुपर्छ’, सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘सवारी पास नलिई चलाएको पाइए प्रशासनले नियन्त्रणमा लिई कारवाही गर्छ ।’ कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहसँग प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन ।

 

Translate »