देशभर चिसो बढ्यो

काठमाडौंमा वर्षकै न्यूनतम तापक्रम

पुस ३, काठमाडौं ।
पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा शुक्रवार वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीवार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।  गत वर्ष पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए ।

“कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौँको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ” मौसमविद् पौडेलले भने । तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बढी चिसो महसुुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

Translate »