कर्णालीका ठूला विमानस्थलको स्तरोन्नती हुँदै

स्काई न्यूज /मंसिर २, सुर्खेत । कर्णाली प्रदेशका  दुई ठूला विमानस्थलको स्तरोन्नती हुने भएको छ । सरकारले धेरै वर्षपछि कर्णालीको हवाई सेवालाई गुणस्तरीय बनाउन सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नती गर्न लागेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विहीबार बसेको प्रदेशका पदाधिकारीहरुको बैठकले प्रदेशको राजधानी सुर्खेतमा भएको विमानस्थललाई प्रदेश स्तरको विमानस्थलका रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

बैठकले सुर्खेत विमानस्थललाई सुविधा सहितको विमानस्थलका रुपमा विकास गर्ने दीर्घकालीन सोच सहित हाललाई १ हजार ५ सय ५५ मिटरको धावनमार्ग र रात्रीकालिन उडान गर्न सकिने गरि विकास एवं विस्तार गर्ने निर्णय गरेको हो । ‘नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रकृया अघि बढाउने बैठकमा निर्णय भएको छ,’ मुख्यमन्त्रीका प्रेससल्लाहकार धुब्र बुढाथोकीले भने, ‘विमानस्थल विस्तार एवं स्त्तरोन्नतिका क्रममा आउन सक्ने विविध समस्या सामाधान गर्न प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षिय समिति गठन गर्ने निर्णय गर्नेछ ।’

उनले बैठकमा जग्गा प्राप्ति प्रक्रिया शीघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले ३ दिन भित्र मुल्याङकन समितिको बैठक आव्हान गरी काम अघि बढाउने निर्णय भएको जनाए । उनका अनुसार मुआव्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम मध्ये ५ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाले व्यर्होने निर्णय छ । बैठकमा मुखयमन्त्री शाहीसहित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खडका, प्रदेश सासद, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारी, प्रदेश सरकारका सचिवहरु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायतको सहभागिता रहेको थियो ।

जुम्ला विमानस्थलको स्तरोन्नती हुँदै
प्रदेश राजधानी सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्ला विमानस्थलको स्तरोन्नतीको कार्य अघि बढाईएको छ । विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्रता दिएको हो । चालु आर्थिक वर्षदेखि बहुवर्षीय आयोजनाको रुपमा विमानस्थल विस्तारको काम शुरु हुने प्राधिकरणले जनाएको छ ।

कर्णालीका हिमाली जिल्लामा यात्रु तथा कार्गो उडानका बढी चाप मानिने जुम्ला विमानस्थल विस्तारका लागि संघीय सरकारले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको सेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भईरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुम्लाबाट जहाजमा यात्रुको चाप बढ्दै गएकाले विमानस्थल विस्तार भएपछि हवाईयात्रा थप सहज र गुणस्तरीय हुन चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् ।

सिमकोट–नेपालगञ्जको भाडा घट्यो
हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लाको सिमकोटदेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५ सय ९५ भाडा लिँदै आएकोमा घटाएर अहिले ५ हजार ३ सय रुपैयाँ कायम गरिएको एयरलाईन्सका सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

उनले नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्ला शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधबारदेखि घटाईएको बताए । उनका अनुसार नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९ सय रुपैयाँ भाडा कायम गरिएको छ । एयरलाइन्सले हुम्लामा साताको १ दिन सोमबार उडान भर्दै आएको छ ।

Translate »