नेवारी रोटी बनाउने तालिम शुरु

स्काई न्यूज /पुस १, सुर्खेत ।  नेवारी समुदायका महिलाहरुका लागि परम्परागत परिकारहरु बनाउने तालिम शुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगर–९, लाटीकोइलीमा बुधबारदेखि पराम्पारिक तथा आधुनिक नेवारी खानाको संरक्षण तथा सम्बद्र्धनका लागि १५ दिने तालिम शुरु गरिएको हो । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको समन्वयमा शुरु गरिएको तालिममा विभिन्न प्रकारका नेवारी परिकारका रोटीहरु बनाउने प्रशिक्षण दिईनेछ । तालिम शुभारम्भ गर्दै वीनपा–९, नम्वर वडाअध्यक्ष सुरेश मानन्धरले महिलाको क्षमता विकासका लागि वडा कार्यालयबाट सबै प्रकारका सहयोग गरिने बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावतले जनजातिका विभिन्न जातजातिले परम्परागत होमस्टे चलाएको बताउँदै अब नेवारी महिलाले समेत आफ्नो परम्परा भल्किने गरि नेवारी होमस्टे सञ्चालनमा जोड दिए । त्यस्तै शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक दिपा हमालले सबै जातजातिले आफ्नो परम्परागत परिकारको संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक रहेको औल्याईन् । तालिममा मुख्यतयाः सेल, फिनी, योमरी, चटामरी, अनर्सा लगायतका रोटी तथा हातले खुटेका विभिन्न दुना टपरी पनि बनाउन सिकाइने प्रशिक्षक उर्मिला श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा शिक्षा विकास निर्देशनालयका प्रतिनिधि विना थापा, नेवा देय् दबुका सचिव बालकृष्ण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Translate »