बादी बालबालिका विद्यालय पहुँच बाहिर

स्काई न्यूज / पुस १, जाजरकोट ।
जाजरकोटमा बादी समुदायका साना बालबालिकाहरु विद्यालयको पहुँच बाहिर रहेका छन् । उनीहरु विद्यालय टाढा भएका कारण विद्यालय जानबाट बन्चित भएका हुन् । कुशे गाउँपालिका ५, बगिरका १० वर्षीय मनोज बादी कस्तुरी प्राथामिक विद्यालय नाउलीखेतका २ कक्षाका विद्यार्थी हुन् । उनलाई विद्यालय पुग्न २ घण्टा र घर फर्कन २ घण्टा समय लाग्छ । तर उनी विद्यालय जाँदैनन् । उनको दैनिकी पासा बुन्ने र खोलामा गएर माछा मारेर समय बित्ने गरेको छ । उनी जस्तै ९ वर्षीया सिता बादीको पनि समय यसैगरी बित्ने गरेको छ । मनोज र सीता त केहि प्रतिनिधी उदाहरणका पात्र मात्र हुन । उनीहरु जस्तै अधिकांश बालबालिकाहरु विद्यालयको पहँच बाहिर रहेका छन् । खुर्पाखोला देखि नाउली खेतसम्म बसोवास गर्ने बादी र अन्य समुदायका २७ घर छन् । विद्यालय टाढा भएकाले साना छोराछोरीहरु विद्यालय जानबाट वञ्चित भएको स्थानीय गणेशबहादुर बादीले बताउनु भयो । २७ घरका ४१ बालबालिका विद्यालय टाढा भएकाले जादैनन् । शिक्षाको पहुँच बाहिर रहेका बादी समुदायका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन आवश्यक देखिन्छ । कुशेको शैक्षिक सुधारका लागि गाउँपालिकाले पहल कदमी थालेपनि बादी समुदायका बालबालिकालाई भने यो कार्यक्रमले छुन सकेको छैन ।

 

 

Translate »