हिल्साबाट सामग्री ढुवानी शुरू

पुस१,हुम्ला ।
चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु आउन थालेका छन् । करीब ९ महीना कोरोना महामारी र तीन महीना हिमपातले बन्द रहेको उक्त नाकाबाट आठओटा टिपरले खाद्यन्न्न ल्याउन थालेका हुन् । सदरमुकाम सिमकोटबाट गएका ती टिपर हिल्सा पुगेर सोमवार फिर्ता भएका थिए । यही मङ्सिरको पहिलो साता नारा र यारी लेकमा परेको हिउँ स्थानीयवासीले बेल्चाको सहायताले पन्छाएपछि गाडी हिल्सा पुगेर फिर्ता भएको दोर्जे लामाले जानकारी दिए । उनका अनुसार कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गतवर्ष हिल्सामै टिपर रोकिएका थिए ।

ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए । सिमकोटमा रहेका पसलमा समेत चिनियाँ सामग्री अभाव थियो । यस्तै चीनबाट लकडाउनपछि पहिलोपटक १२ ओटा गाडीले हिल्सासम्म पुगेर सामग्री पुर्‍याएका थिए । नाम्खा गाउँपालिकाको पहलमा वडा नं १ देखि वडा नं ५ सम्मका स्थानीयवासीको आवश्यकता पूरा गर्न चिनियाँ दूतावाससँगको समन्वयमा सामान आयात भएको हो । दैनिक उपभोग्य वस्तु लत्ताकपडा चीनको ताक्लाकोट हुँदै हिल्सा पुगेका छन् । एक वर्षदेखि ताक्लाकोटमा रहेका व्यापारीले रू.२ करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायत सामान खरीद गरेका थिए ।

Translate »