सुर्खेतमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्ने

आयुर्वेद उपचार केन्द्र बन्दै ‘वीरेन्द्रनगर’

स्काई न्यूज /मंसिर ३०, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा सुविधा सम्पन्न आयुर्वेद चिकित्सालय बन्ने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई प्रवद्र्धन एवम् विस्तार गर्न संघीय सरकारले वीरेन्द्रनगरमा ५१ कोठाको तीन तले सुविधा सम्पन्न आयुर्वेद अस्पताल बनाउन लागेको हो । पहिलो चरणमा २२ करोड ६० लाख रुपैयाँको लागतमा प्रदेश आयुर्वेद औषधालयको हाता भित्र उक्त अस्पताल बनाउन प्रारम्भिक प्रक्रिया शुरु भएको छ । अस्पताको नाप, नक्सा, स्टमेटको कार्य पुरा भएर टेण्डरको अन्तिम प्रक्रियामा रहेको संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका ईन्जिनियर टिकाराम पोखरेलले जानकारी दिए । उनका अनुसार कुनै अवरोध नआए पुसको पहिलो÷दोस्रो साताभित्र चिकित्सालय भवनको टेण्डर आव्हान गर्ने तयारी भईरहेको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले सात वटै प्रादेशिक आयुर्वेद अस्पताल बनाउने केन्द्र सरकारको नीति अन्तर्गत सुर्खेतमा पनि सुविधा सम्पन्न आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउन लागिएको बताए । उनले आयुर्वेदिक सर्जरी, उपचारसहित वैकल्पिक चिकित्साका विभिन्न विधासमेत समेटी प्रदेश सरकारमातहत रहने गरी अस्पताल बनाउन लागिएको जनाए । ‘प्रदेश तहमा एक–एक वटा रेफरल अस्पताल, स्थानीय तहमा पनि कुनै न कुनै संरचना बनाउने संघीय सरकारको नीति रहेको छ,’ डा. रिजालले भने, ‘सुर्खेतमा बन्ने अस्पतालबाट आयुर्वेदिक औषधि, पञ्चकर्म, योग, क्षारसूत्र (सर्जरी) सँगै प्राकृतिक चिकित्सा, अकुपन्चरलगायतका सेवा उपलब्ध हुने छन् ।’ उनले साबिकको ‘प्रदेश आयुर्वेद औषधालयलाई नयाँ संरचनामा ‘वैकल्पिक चिकित्सा’ थपेर ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ बनाईएको बताए । उनका अनुसार होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा, प्राकृतिक तथा अकुपन्चर चिकित्सा शाखासमेत थप्ने योजना रहेको छ । आयुर्वेदका विद्यमान स्वास्थ्य संस्थाहरुबाट ९० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि हाल २३ प्रकारका औाषधि मात्रै १२ महिनै उपलब्ध गराउन सकिएको डा. रिजाल बताउँछन् । ‘बजेट कम हुँदा सबै औषधि सधैं पु¥याउन सकिएको छैन,’ उनले भने, ‘त्यसैले टप १० डिजिजमा प्रयोग हुने २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएका छौं ।’ उनले आयुर्वेदलाई मौलिक, भरपर्दो र साइडइफेक्टरहित चिकित्सा पद्धति भनिए पनि यो सरकारको प्राथमिकतामा पर्न नसकेको जनाए । उनका अनुसार सिंगै आयुर्वेद विभाग नै खडा गरिए पनि स्वास्थ्य सेवाको कुल बजेटको करिब ४ प्रतिशत मात्रै आयुर्वेदले पाउने गरेको छ ।


प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनानुसार सुर्खेतमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरुले प्रदेशको गौरवको योजनाका रुपमा लिएको प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले बताए । उनले प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाए । उनले भने, ‘नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतना सहित उच्चस्तरको प्रविधियुक्त स्रोत संकलन र डिजिटलयुक्त पुस्ततकालय स्थापना गर्दैछौँ ।’ उनका अनुसार कर्णाली प्रदेशभित्र मात्र वार्षिक ५० करोडसम्मको जडीबुटी उत्पादन हुँदै आएको छ । ‘कर्णाली जडीबुटीका लागि भण्डार मानिए पनि यहाँबाट कौडीको भाउमा कच्चापदार्थको रुपमा अन्यन्त्र पठाउने गरिएको छ,’ उनले भने, ‘तर हामीले त्यही जडीबुटीबाट बनेको औषधि महँगो मूल्य तिरेर उपभोग गर्नुपरेको छ ।’ यहाँको जडीबुटीलाई कच्चापदार्थको रुपमा होइन, तयारी औषधिको रुपमा निर्यात गर्ने बेला भएको उनले बताए । हाल प्रदेश आयुर्वेद औषधालययबाट स्त्री, प्रसूति सेवा, अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ । उनका अनुसार अब बन्ने चिकित्सालयमा अन्तरंग सेवा अन्तर्गत शल्य चिकित्सा, पञ्चकर्म, क्षारसुत्र सेवा, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोथेरापी, एक्सरे, सिटी स्क्यान र टेलीमेडिसिनलगायतका सेवा शुरु गरिने छन् ।


आयुर्वेद उपचार हवको रुपमा विकसित गरिँदै
कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । औषधालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको औषधालयका डाक्टर यादव उपाध्यायले बताए । ‘डेढ वर्षअघि यो आयुर्वेद औषधालय सुनसान थियो’ उनले भने, ’तर नयाँ सेवा शुरु गरेपछि बिरामीको संख्या ह्वात्तै बढेको छ ।’ अहिले क्षारसूत्र, पञ्चकर्म, अग्निकर्म लगायतका सेवा थप गर्नुका साथै विगतका सेवालाई पनि प्रभावकारी बनाएपछि सेवाग्राही बढेको उनको भनाइ छ । अहिले हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम, सुर्खेत, अछामलगायतबाट पनि उपचारका लागि विरामी आउने गरेका छन् । औषधालयमा बिरामीको चाप बढ्न थालेपछि अग्रिमरुपमा नाम दर्ता गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।


दरबन्दीअनुसार चिकित्सक नहुँदा दुई जनाले बिरामी जाँच गर्दै आएका छन । औषधालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायत रोग निदान गर्दै आएको छ । चिकित्सालयमा क्षारसूत्र सेवा शुरु भएपछि आफु पायल्स, फिस्टुला, फिसररोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौं जानुपर्ने बाध्यता हटेको सेवाग्राही देवबहादुर थापाले बताए । ‘केही दिनअघि मैले पनि औषधालयबाट क्षारसूत्र सेवा लिएको हुँ’ उनले भने, ‘पहिले सानो समस्याका लागि पनि काठमाडौं, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो ।’ औषधालयले विभिन्न पाँचकर्म गरेर बाथ, पित्त तथा कफलाई निदान गर्न यो सेवा प्रदान गरिन्छ । लामो समयदेखि पूर्वाधार निर्माण भए पनि सञ्चालन हुन नसकेको उक्त सेवालाई गत वर्षदेखि सञ्चालनमा ल्याइएको हो । नयाँ सेवा विस्तार भएपछि औषधालमा बिरामीको संख्या बढेको छ । चिकित्सकको अभाव औषधालय व्यवस्थित हुँदै गए पनि विशेषज्ञ डाक्टरको अभाव भने कायमै छ । स्वास्थ्य सेवा सुधार विगत एक वर्षअघि ओपिडीमा बिरामीको अवस्था नाजुक थियो । तर अहिले सेवा प्रभावकारी भएको छ । बिरामीका लागि प्रतीक्षालय निर्माण गरिएको छ । नागरिक बडापत्र, सूचना बोर्ड, औषधालयमा सरसफाइ थिएन, अहिले भने यो समस्या छैन ्। भौतिक पूर्वाधारको अवस्था अस्तव्यस्त थियो । तर अहिले पञ्चकर्मको भवन, अन्तरङ्ग, एक्सरे मेसिन, आधुनिक ल्याबको व्यवस्था गरिएको छ । पूर्वाधारको निर्माण औषधालयलाई आवश्यक पर्ने विभिन्न पूर्वाधार पनि निर्माण भएका छन् । औषधालयको पूर्वतर्फबाट बाटो खुलाउने काम भएको छ । त्यस्तै औषधालयमा योगा हल निर्माण, ल्याब, अन्तरङ्ग विभाग, पञ्चकर्म, क्षारसूत्र, थेरापी मेसिन, फ्रि– वाइफाइ, प्रविधिमैत्री रजिष्टेशन, सिसी क्यामेरा जडान, डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको छ ।

Translate »